काठमाडौँ, १३ जेठ । ट्राफिक नियम उल्लङ्घन गरेकोमा लाग्ने शुल्क बढाएको भन्दै यातायात व्यवसायीले काठमाडौँ उपत्यकामा आज बिहानैदेखि चक्काजाम गरेका छन् ।
यातायात व्यवसायीहरुले ट्राफिक प्रहरी शुल्क रु २५ देखि २०० सम्मलाई जेठ १ गतेदेखि लागू हुनेगरी रु ५०० देखि रु एक हजार ५०० सम्म पुर्याएको भन्दै चोकचोकमा सवारीसाधन थन्क्याएर चक्काजाम गरेका हुन् ।
काठमाडौँ उपत्यकामा अत्यावश्यक सवारीसाधनबाहेक अरू कुनै पनि भाडाका सार्वजनिक सवारीसाधन नचलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र पाख्रिनले जानकारी दिनुभयो ।
विसं २०७२ असोज १४ गते ट्राफिक ऐन संशोधन गरी ट्राफिक नियम उल्लङ्घन गर्नेलाई यही जेठ १ गतेदेखि लागू हुनेगरी ट्राफिक जरिवाना वृद्धि भएको थियो । रासस