
रीता बुढाथोकी
बुटबल । गुल्मी जिल्ला शान्तिपुर स्थाई घर भई हाल बुटवलमा जस्ता पाताको काम गर्दै आएका सुभाष पौडेलको लकडाउन सुरु भएपछि काम पनि ठप्प भयो । गाउँ फर्किन चाहाँदा चाँहदै पनि जिल्ला बाहिर जाने गाडीमा रोक लगाइएको हुँदा उनी बुटवलमै रोकिए ।
बैशाखको पहिलो हप्तामै घरमा बुवा बिरामी भएको खबर आयो । आमाले फोन गरेर बिरामी भएको खबर सुनाएकी थिइन् । उनले लकडाउन खुलेपछि घर आउने बताए । बुवालार्ई अस्पतालसम्म ल्याउने मान्छे कोही थिएन ।

“बिरामी बुवालाई आमाले एक्लै कसरी सम्हाल्नु भएको होला ?” उनी छट्पटाए । बुवालाई दिनदिनै रोगले च्याप्दै गयो । अस्पतालसम्म पुर्याउने मान्छे नभएपछि गाउँका आफन्तहरुले बुवालाई एम्बुलेन्समा राखेर पाल्पास्थित मिसन अस्पतालमा ल्याए ।
दुई दिनदेखि बिरामी बुवा छोराको पर्खाइमा अस्पतालमा थिए तर, सुभाष बुवालई भेट्न तानसेनसम्म जान सकेनन् । कारण, लकडाउनका कारण सवारीमा लगाइएको रोक । “हामी बाध्यताले शहरमा आउँछौँ । तर बाध्यतामा आफ्नो घर जान पनि पाउँदैनौ,” उनले दुखेसो पोखे ।
गाउँ जान चाहनेलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अत्यावश्यक सवारी साधनका लागि सवारी पास उपलव्ध गराउँदै आएको छ भन्ने थाहा पाएर उनी इलाका प्रशासन कार्यालय बुटबल गए । त्यहाँ कार्यरत कर्मचारीसंग पास बनाइदिन आग्रह गरे । तर, पासको लागि अनलाईन फाराम भर्नु पर्ने भन्दै उनलाई फर्काइयो । उनी निरास भएर डेरा फर्के ।

सवारी पासका लागि साथीहरुको सहयोगमा गृह मन्त्रालयको वेबसाइटमा रहेको अनलाईन फाराम भरेका थिए । फराम स्वीकृत भएर उनको मोवाईलमा कोड पनि आएको थियो । त्यही कोड लिएर उनी पुनः इलाका प्रशासन कार्यालयमा पुगे । त्यहाँका कर्मचारीले प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर जानकारी गराए पछि मात्र पास स्वीकृत हुने कुरा सुझाए । उनले पटक पटक फोन गरे । तर फोन नउठे पछि निरास भएर डेरा फर्के ।
“पास बनाउन भैरहवा जान नसक्नेका लागि इ–पासको ब्यवस्था रहेछ । मैले बिहानै अनलाईन फराम पनि भरेको थिएँ । मेरो मोवाइल फोनमा कोड पनि आएको थियो । त्यो स्वीकृत हुनका लागि सिडिओ (प्रमुख जिल्ला अधिकारी)लाई कल गरेर जानकारी गराउनु पर्ने रहेछ । मैले १० चोटी मोवाईल र ल्याण्ड लाइन फोनमा कल गरि सके । तर फोन उठ्दैन । म हैरान भइसके ।” प्रशासनकोे कार्यशैका कारण आफुहरु मर्कामा परेको उनले बताए ।
परिवारमा संकट परेका बेला पनि आफु उपस्थित हुन नपाएको प्रति उनको दुखेसो छ । भन्छन्, “सरकारले बैकल्पिक पासको ब्यवस्था गरिदिनु पर्ने हो । उहाँहरुले नियम बनाउनु हुन्छ, तर ति नियमले हामीलाई सहज होइन, झनै अप्ठेरो बनाइदिएको छ ।”
बैशाखको महिनाको चर्को घाम । त्यसमाथि लकडाउनले थलिएको बुटवल बजार । यहाँस्थित इलाका प्रशासन कार्यालयमा कैयौँ सुभाषहरु गाउँ फर्किनका लागि सवारी पास नपाएर हैरानी खेपिरहेका छन् । दैनिक ज्याला मजदुरी गरेर जिबिकोपार्जन गर्ने मजदुरहरु यतीबेला सबैभन्दा पीडामा छन् । “शहरमा बसौँ त, रासन छैन, गाउँ फर्कौ त गाडी छैन । चारै तिर बन्द छ ।” पास बनाउन प्रशासन आएका अर्घाखाँचीका डिल बहादुर बिश्वकर्माले आफ्नो समस्या सुनाए ।
बैकल्पिक पास नहुँदा इमेल इन्टरनेटको पहुँचमा नरहेका सर्बसाधारणहरु यतीबेला समस्यामा छन् । “हामी अनपढ मान्छे, अनलाईन फाराम कसरी भर्ने भन्ने पनि थाहा छैन, तर यहाँका कर्मचारीले अनलाईन फाराम नभरे पास मिल्दैन भन्नु हुन्छ, के गर्ने हामी त प्रशासनकाट पनि पीडित भयौँ ।” गुल्मीकी पार्वती थापा प्रशासनको काम कार्वाही बारे असन्तुष्टि ब्यक्त गर्छिन् । यसलाई मध्यनजर राखेर “सरकारले पास बितरणमा सहजता ल्याउनु पर्ने हो । संकट परेको बेला त जान पाउनु पर्यो नि । सरकारले हाम्रो पीडा कहिले सन्ला?” उनले थपिन ।
यद्यपी, इलाका प्रशासन कार्यलयका कर्मचारी भने आफुले सरकारको निर्देशन पालना गरेको बताउँछन् । सर्वसाधारणहरु समस्यामा परेको जान्दा जान्दै पनि आफुहरुले गृह मन्त्रालयको निर्देशन बिना केही कदम चाल्न नमिल्ने बताउँदै आएका छन् ।