धादिङ, २७ बैशाख । धादिङको गंगाजमुना गाउँपालिका फुलखर्क देउरालीमा धारिलो हतियार प्रहार गरी एक शिक्षकको हत्या भएको छ । गंगाजमुना एकेडेमिका शिक्षक यम बहादुर गुरुङको धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।
हतियार प्रहारबाट गम्भिर घाइते भएका उनलाई उद्दारका लागि एम्बुलेन्स समेत नपाएपछि गाउँपालिकाकै गाडीमा मध्यराती जिल्ला अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुग्ने बित्तिकै उनी मृत घोषित भएका थिए । हत्यामा समलग्न नेपाली सेनाका अवकाश प्राप्त स्थानिय भिमसेन बुढाथोकीले पक्राउ परेका छन् ।
मृतक गुरुङको दुबै खुट्टा काटिएको र दुबै हात मध्ये एउटा हात छिनेको अवस्थामा अस्पताल पुर्याइएको थियो । गम्भिर घाइते उनलाई उपचारका लागि हेलिकोप्टर समेत ल्याउन नसकिएपछि मृत्यु भएको हो ।
शिक्षक गुरुङलाई धारिलो हतियार प्रहार गरेपछि बुढाथोकीले ‘मैले हानेर आएँ’ भन्दै हिँडेका थिए । त्यसपछि स्थानियबासीले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । गाउँपालिकामा रहेको एम्बुलेन्स समेत काम नलाग्ने भएपछि विरामीको उद्दारमा बिलम्ब भएको थियो ।