सुनसरी । इटहरीमा नेकपा एमालेका नेता डम्बर सुवेदीमाथि आक्रमण भएको छ । नेकपा एमाले प्रदेश एक सदस्य रहेका उनीमाथि आइतबार बिहान तीन जनाको समूहले इटहरीको संगीत चोक क्षेत्रमा आक्रमण गरेको हो ।
उनलाई हाल उपमेयरमा पराजित नेकपा एकीकृत समाजवादीका केशव कुमार विष्टको समुहले आक्रमण गरेको जनाइएको छ । इटहरीको अन्तिम मत परिणाम सार्वजनिक भएपछि बिहान बाटो हिँड्दै गर्दा आफूमाथि कैलाश विष्ट नाम बताउने युवाको समूहले आक्रमण गरेको उनले बताए । आक्रमणमा संलग्न भएको आरोप लागेका विष्ट केशवकुमार विष्टका छोरा हुन् ।
इटहरी उपमहानगरपालिकाको आइबार बिहान सम्पन्न मत गणनामा आफ्नो बुबा उपमेयरमा पराजित भएपछि विष्टले रोष प्रकट गरेको सुवेदीको भनाइ छ । उपमेयरमा पराजित विष्टको निर्देशनमा घटना भएको भन्दै नेकपा एमालेले विज्ञप्ति नै निकालेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव समेत रहेका विष्टसाढे १४ हजार मतान्तरले पराजित भएका थिए ।
गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रहेका विष्ट नेकपा एमालेकी उम्मेदवार संगीता कुमारी चौधरीसँग १४४०५ मतान्तरले पराजित भएका थिए ।
एमालेकी चौधरी ३२४३६ मत ल्याएर विजयी भइन् भने उनका प्रतिद्वन्दी विष्टले १८०३१ मत मात्रै ल्याए।