काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले अहिलेको बजेटले संघीयताको मर्मलाई बुझ्न नसकेको बताएका छन् । आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले आर्थिक रुपमा संघीयताको बारेमा उल्लेख्य काम हुन नसकेको गुनासो गरे ।
‘आर्थिक रूपमा संघीयताको बारेमा उल्लेख्य काम भएको छैन । अहिलेको बजेटले संघीयताको मर्मलाई बुझेन । जस्तो सशर्त अनुदानको कुरा छ । त्यो भनेको के हो ? त्यो भनेको केन्द्र हाबी भएको हो । केन्द्रले स्थानीय तहको अधिकार मिचेको हो,’ परियारले भने, ‘कार्यविधि केन्द्रले बनाएर तल पठाउने काम पनि गलत हो । संघीयता व्यवस्थाविरुद्ध जसरी अहिले यो आवाज उठेको छ । संघीयता खर्चालु भयो जस्तो गरेर । यो मिथ्या कुरा गरेर संघीयतामाथि आरोप लगाइएको छ ।’
प्रमुख सचेतक परियारले केन्द्रले स्थानीय तहको अधिकार मिचेर सशर्त अनुदान दिएको बताए । उनले कार्यविधि केन्द्रले बनाएर स्थानीय तहमा पठाउने कुरा गलत भएको बताए ।