पशुपतिको जलहरीको तौल जोखियो, १०७ किलो ४६८ ग्राम

दियो पोस्ट  

काठमाडौं । पशुपतिनाथ मन्दिरको मूल शिवलिङ्गमा राखिएको सुनको जलहरीको तौल लिइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानको क्रममा सोमबार बिहान सुनको जलहरीको तौल लिइएको हो।

मूल शिवलिङ्गको जलहरीमा प्रयोग भएको सुनको तौल १०७ किलो ४६८ ग्राम मापन भएको पशुपति क्षेत्र विकास कोष स्रोतले जानकारी दिएको छ। अख्तियार स्रोतले जलहरीको तौल लिइएको बताए पनि यकिन तौलबारे भने उल्लेख गर्न चाहेन।

पशुपतिनाथ मन्दिरको मूल शिवलिङ्गमा ११ फागुन २०७७ मा सुनको जलहरी राखिएको थियो। तत्कालीन अवस्थामा १०८ किलो सुन प्रयोग गरेर मूल शिवलिङ्गमा जलहरी राख्ने निर्णय भएको थियो। तर, ११ किलो सुन गायव पारिएको भन्दै २ वर्ष अगाडि नै अख्तियारमा उजुरी परेको थियो।

उजुरी परेको २ वर्षसम्म अख्तियारले अनुसन्धानमा तदारुकता नदेखाए पनि पछिल्लो समय संसद्‌मै उक्त विषयले विवाद भएपछि अख्तियारले अनुसन्धानलाई गति दिएको थियो।