काठमाडौं । काठमाडौंको नयाँ बजार क्षेत्रमा भएको एउटा ठूलो लुटपाटको घटना गुपचुपमै राखिएको खुलाशा भएको छ । विवादास्पद भारतीय व्यापारी नरेश अग्रवाल र उनको छोराले आफ्नै स्वामित्व रहेको बौद्धस्थित मामन स्टोर्समा गाडीमा हालेर पठाएको एक करोड ६ लाख रुपैयाँ लुटपाटको घटना हालसम्म पनि गोप्य राखिएको खुलेको छ ।
दियोपोस्टलाई प्राप्त जानकारी अनुसार सि माला र अवैध सुन तस्करीमा पटक पटक पक्राउ पर्दै छुट्दै आएका व्यापारी अग्रवालले केहीदिन अघि आफ्नो क्षेत्रपाटीस्थित घरबाट एक करोड ६ लाख रुपैयाँ नगदै गाडीमा हालेर बौद्ध पठाउँदै थिए । तर, सवारी चालक विकेश खड्काले गाडीमा पैसा हाल्ने वित्तिकै रकम लुटेरा माध्येका एक सन्तोष भट्टलाई खबर गरेका थिए । भट्ट बीच बाटोमै आएर गाडीमा चढेपछि पैसा लुटपाट भएको थियो । चालक खड्काले आफूलाई भट्टले पछाडीबाट २ झापड हानेर नयाँ बजार तर्फ लिएर गएपछि पैसा लुटपाट भएको बताएका छन् । तर, लुटेरा समुहसँग चालकले नै सम्पर्क गरेको र पैसा लुटिएको नाटक पनि उनै चालकले गरेको अर्को पक्षको दाबी छ । चालक खड्काले आफू चढेको गाडी मोटरसाइकलमा ठोकिएको र आफू केहीबेर पछि गाडीमा आउँदा गाडीमा पैसा नभेटिएको भन्दै अग्रवाल पक्षलाई फोनमा जानकारी दिएका थिए । त्यस लगत्तै अग्रवाल समुहले प्रहरीमा जानुको सट्टा पैसा खोजी गर्न विभिन्न समुहको गुहार मागेको थियो ।
यो खबर चुहिएसँगै महानगरीय प्रहरी अपराध महासाखाको टोलीले सुक्ष्म अध्ययन गरेको थियो । प्रहरी टोलीले ठमेलस्थित मस्र्याङ्ग्दी होटल नजिकैबाट सवारी चालक विकेश खड्का र उनको घरमा काम गर्ने रमेश नाम गरेका व्यक्तिलाई पक्राउ गरेको थियो । पक्राउ परेका खड्का र रमेश नाम गरेका व्यक्तिलाई महासाखाले २ दिनमै छाडेको थियो । अपराध महासाखाका एक अधिकारीले उजुरकर्ता समेत नआएका कारण आफूहरुले चालकसहितकका व्यक्तिलाई लामो समय हिरासत राखेर अनुसन्धान गर्न नपाएको दाबी गरे ।
‘चालकसहित एक जनालाई अपराध महासाखाले नियन्त्रणमा लिएको हो । महासाखाको सोह्रखुट्टे टोलीले नियन्त्रणमा लिएपनि उजुरकर्ताको रकमका स्रोत नखुलेका कारण थप छानबीन गर्न सकिएन,’ ती अधिकारीले भने,‘रकमको स्रोत नै नखुलेपनि छानबीन गर्ने कुरा थियो । तर, पीडित भनिएको उजुरकर्ता नै उजुरी दिन आएन ।’
चालकले दिएको भिडियो बयान दियोपोस्टले फेला पारेको छ । उक्त भिडियो बयानमा उक्त गाडी र रकम भारतीय व्यापारी नरेश अग्रवालकै भएको उनले बताएका छन् । उनले आफूलाई लुटेरा सन्तोष भट्टले मार्ने धम्की समेत दिएको बताएका छन् । प्रहरीका उच्च अधिकारीसँग समेत आफ्नो चिनजान भएको लुटेराले बताएको उनले भिडियो बयानमा बताएका छन् । पैसा लुटपाटको घटनापछि आफूलाई कामबाट निकालेको उनको भनाई छ ।
यता लुटपाट घटनामा पीडित भएको भनिएका विकेश अग्रवालले आफूहरुको चालक विकेश खड्का नभएको बताए । ‘मेरो चालक अहिले पनि घरमै छ । चालकको नाम जीवन हो,’ उनले भने,‘मेरो पैसा लुटपाट भएकै छैन । यो सबै जानकारी झूटो हो ।’
पैसा लुटपाटै नभएको बताउने अग्रवालले अन्तिममा भने सुचना कसरी थाहा पाउनुभयो भन्दै दियोपोस्टकर्मीलाई प्रश्न गरेका थिए ।
लुटेराको प्रहरीसँग कनेक्शन
स्रोतका अनुसार पैसा लुटपाटको घटनाका मुख्य योजनाकार सन्तोष भट्टको प्रहरीको उच्च अधिकारसँग समेत साँठगाँठ छ । लुटपाट भएकै समयमा उनका काका नातापर्ने एक व्यक्ति सोह्रखुट्टेस्थित प्रहरी बृत्तको सई थिए । घटना भए लगत्तै ती सईलाई तुरुन्त सरुवा गरेर बानेश्वर रमाना गरिएको छ । उनको रमाना समेत शंकाष्पद रहेको उच्च स्रोतको दाबी छ ।
को हुन् अग्रवाल
आफूलाई कार्गो व्यावसायी बताउने भारतको दार्जलिङ्ग घर भएका नरेश अग्रवाल मूलत नेपाल मार्फत विभिन्न अवैध धन्दा गर्ने तस्कर हुन् । सि माला र सुन तस्करीमा उनको विशेष भूमिका हुने गरेको छ । तत्कालिन महानगरीय प्रहरी अपराध महासखाका एसएसपी सर्वेन्द्र खनालको समुहले उनको स्वमित्व रहेको बौद्धस्थित मामन स्टोरमा छापा मारेको थियो ।
त्यतिबेला ५ किलो सुन र करोडौं रकम फेला पारेको थियो । चीनको नाका हुँदै भारतीय बजारमा अवैध सुन पुर्याउने धन्दाका नाइकेको रुपमा चिनिएका अग्रवालको यो धन्दा यतिबेला छोराले सम्हाल्दै छ । छोरा विकेश अग्रवालले बाबुको अवैध धन्दा सम्हालेका छन् ।