सहकारीको आवरणमा मिटरब्याजको धन्दा : खाली चेक धितो राखेर ऋणीलाई जेल पुर्याउने को को ?

दियो पोस्ट  

काठमाडौं । काठमाडौंको ठमेलस्थित चेतना बचत तथा ऋण सहकारी संस्थाका संचालकहरुले बचतकर्ताको करोडौं रकम हिनामिना गर्ने गरेको खुलाशा भएको छ ।

सहकारीका अध्यक्ष शिव प्रसाद चौलागाइँ, प्रबन्धक सन्ध्या पाण्डे, लेखा संयोजक राजेश सापकोटाको मिलेमतोमा करोडौँ रकम मनोमानी हुने गरेको पाइएको हो ।

सहकारी संचालकहरुले बचतकर्ताको करोडौँ रकम निर्धारित क्षेत्रभन्दा बाहिर गई भारतीय व्यापारीसम्मलाई मिटरब्याजमा लगाएर फाइदा लिने गरेको पाइएको हो । उनीहरुले बचतकर्ताको रकम धितो बिना नै लगानी गर्ने गरेका छन् । ‘२० देखि २५ लाख रुपैयाँ धितो बिना नै लगानी गर्ने गरिएको छ । कतिपयलाई ब्याक डेटको चेक धितो राखेर ऋण दिने गरिएको छ,’ एक शेयर सदस्यले दियोपोस्टसँग भने,‘ब्याक डेटको चेक लिएर ऋण दिनु त अपराध नै हो ।’

त्यस्तै सहकारी संचालकहरुले सिन्धुपाल्चोक, नुवाकोट र धादिङ्ग लगायत विभिन्न जिल्लामा आफूखुसी मिटरब्याजमा पैसा लगाएका छन् । उनीहरुले २५ देखि ३६ प्रतिशतसम्म मिटर ब्याजमा रकम लगानी गरेका छन् । तर, मिटरब्याजबाट आएको पैसा सञ्चालकहरुले खल्तीमा हाल्ने गरेका छन् । संचालकहरुले विभिन्न स्थानमा सहकारीको बचत रकमबाट आफ्नो नाममा घर जग्गा समेत जोडेको आरोप छ ।

अध्यक्ष चौलागाइँले रकम हिनामिना गर्न आफ्ना भाञ्जा नाता पर्ने राजेश सापकोटालाई लेखा समिति संयोजक बनाएर ल्याएका छन् । उनै मामा भाञ्जाका कारण सहकारी विरुद्ध विभिन्न निकायमा उजुरी समेत परेको छ ।

सहकारी सञ्चालकहरुको लापरबाहीका कारण सचिव सुदर्शन घिमिरेले झुण्डिएर आत्महत्या गरेको समेत एक शेयर सदस्यले दियोपोस्टलाई बताए । उपाध्यक्षमा पराजित भएका व्यक्ति प्रेम प्रसाद खनाललाई सचिवमा नियुक्त गरि ल्याएको समेत नाम नबताउने शर्तमा एक सदस्यले बताए ।

ऋण नै नलिएको मान्छेलाई समेत ऋणीको कागज गराएको भन्दै विभिन्न निकायमा उजुरी परेको छ ।

खाली चेकमा हस्ताक्षर गराएर चेक, ऋणीलाई जेल

सहकारीबाट यम घिमिरेले १ लाख रुपैयाँ ऋण लिएका थिए । लिएको ऋण मध्ये घिमिरेले ७० हजार रुपैयाँ भन्दा बढी तिरिसकेका थिए । सहकारी संचालकहरुले ब्याज र हर्जाना जोेडेर फेरी ३२ हजार रुपैयाँ तिर्न उर्दी गरे । सामान्य मजदुरी गर्ने उनले पैसा तिर्छु भनिरहेका थिए । तर, एका विहानै उनको घरमा सहकारीका व्यक्तिहरु घरमै आए ।

उनीहरुले सोह्रखुट्टे बृत्तबाट खटिएका सिभिल प्रहरी समेत ल्याएका रहेछन् । ‘मैले तिर्नुपर्ने कति रकम हो म तिर्छु भन्दा भन्दै मलाई सोह्रखुट्टे प्रहरी बृत्तमा लगियो । २५ दिन हिरासतमा राखियो,’ उनले भने‘त्यसपछि मलाई जेल पठाइयो । १३ दिन जेल बसेपछि थाहा भो मैले दिएको खाली चेकमा आफै रकम भरेर उनीहरुले २ लाख रुपैयाँको चेक बाउन्स गराएछन् ।’

उनी २ लाख धरौटी तिरेर छुटेको बताउँछन् । सहकारीका सचिवले आफूखुसी चेकमा रकम उल्लेख गरेर आफूलाई फसाएको उनले बताए । त्यतिबेला प्रहरी प्रमुखले समेत आफूले रकम तिर्छु भन्दा कुरा नसुनेको उनको दाबी छ ।

सहकारीबाट अर्का व्यक्ति सञ्जय लामा पीडित छन् । दियोपोस्टको सम्पर्कमा आएका उनी खुलेर बोल्न चाहेनन् । ‘मैले ३ लाख रुपैयाँ ऋण लिएको हुँ । उहाँहरुले केके गर्नु भयो थाहा भएन । अस्ति बोलाउनु भएको थियो । छलफल भइरहेको छ,’ उनले भने ।

कानुनभन्दा बाहिर एक पैसा खाएको छैन बरु म मर्छु : अध्यक्ष चौलागाइँ

सहकारीका अध्यक्ष शिव प्रसाद चौलागाइँ भने आफूले एक पैसा पनि मिटर ब्याजमा नलगाएको दाबी गर्छन् । यम घिमिरेको सन्दर्भमा भने आफूभन्दा अघिकै अध्यक्षको पालामा मुद्दा मामिला भएको उनले बताए । यद्धपी आफूलाई उक्त विषयमा त्यतिधेरै जानकारी नभएको समेत बताए ।

महानगरपालिका सहकारी विभाग भन्छ,‘साधारण सभाकै बेलामा उजुरी आएको थियो’

यता काठमाडौं महानगरपालिका अन्तर्गर्त सहकारी विभागका कर्मचारीका अनुसार उक्त सहकारीको वार्षिक साधारण सभामा अध्यक्ष हुन नपाएको समुहले उजुरी गरेको थियो । शाखा अधिकृत शिव प्रसाद भट्टराईले उक्त उजुरीबारे कुनै कारबाही नभएको बताए ।