काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर मानव तस्करी गरी ठगी प्रकरणको मुद्दाको पुर्पक्षका लागि केन्द्रीय कारागार रहेका दुई अभियुक्तलाई अर्को कारागार सारिएको छ। यो प्रकरणमा जोडिएका तथा मुख्य योजनाकार भनिएका सानु भण्डारी र केशव दुलाललाई केन्द्रीय कारागारबाट ललितपुरस्थित नख्खु कारागार सारिएको हो।
केन्द्रीय कारागारका अनुसार उनीहरु २ जनालाई गत मंगलबार नख्खु कारागार पठाइएको हो । शान्ति सुरक्षाको कारण देखाउँदै गृह मन्त्रालयले नै उनीहरुलाई नख्खु कारागार पठाउने आदेश दिएपछि नख्खु पठाइएको स्रोतले जनाएको छ।
प्रहरीले गरेको अनुसन्धानअनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीहरु मुख्य योजनाकार हुन्। उनीहरुकै बयानबाट भीआईपीहरु पक्राउको बाटो खुलेको थियो। सबै जनालाई एउटै कारागारमा राख्दा सुरक्षा चुनौती हुने भएपछि गृह मनत्रालयको निर्देशनमा उनीहरुलाई अर्को कारागार सारिएको हो।
यो प्रकरणमा पक्राउ परेर अदालतको आदेशपछि १६ जना कारागार चलान भएका थिए।