विद्युतीय गाडीको किलोवाट घटाएर भन्सार छली अपराधमा विनोद चौधरीका कान्छा सुपुत्र

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपालको एक मात्रै डलर अर्बपतिको रुपमा परिचित विनोद चौधरीका छोराले राज्यलाई करोडौँ भंसार छली गरेको खुलाशा भएको छ ।

उनका कान्छा सुपुत्र निर्वाण चौधरीले सिजि मोटर्स नामक कम्पनि मार्फत आयात गरेको नेटा एक्स नामक गाडीमा करोडौँ राजश्व छली गरेको खुलाशा भएको हो ।

चिनियाँ स्टार्टअप कम्पनि होजोन मोर्टसको पछिल्लो उत्पादन रहेको नेटा एक्स २०८० कार्तिकदेखि नेपालमा बुकिङ खुला गरिएको थियो । चौधरी समुहको सिजि मोटर्सले गत फागुनमा नेपाल भित्र्याएको थियो । नेपाल भित्र्याउँदा भंसार छल्ने उद्देश्यले किलोवाट घटाइएको खुलाशा भएपछि भंसार विभागले अनुसन्धान गरेको छ । विभागले चौधरी समुहलाई २६ करोडभन्दा बढी भंसार छली गरेको भन्दै जरिवाना समेत गराएको स्रोतले जनाएको छ । तर, विभागका प्रवक्ता पुण्ड्य विक्रम खड्काले यस विषयमा मुख खोल्न चाहेनन् ।

नेटा एक्सको लम्बाई ४६१९ एमएम, चौडाई १८६० एमएम र उचाई १६२८ एमएम रहेको छ । कम्पनीले यसमा २७७० एमएमको ह्वीलवेस पाउन सकिने दाबी गरेको छ ।

 

 

उत्पादक चिनियाँ कम्पनिले सार्वजनिक गरेको क्याटालग, जसमा माेटर पावर १ सय २० किलाेवाट लेखिएकाे छ ।

 

चौधरी समुहले बजेट आउनुअघि नेपालमा भित्र्याएको नेटा एक्सको किलोवाट घटाएको कागजातले पुष्टि हुन्छ । चिनियाँ उत्पादक कम्पनिले सार्वजनिक गरेको क्याटलग अनुसार यो गाडीको मोटरपावर १२० किलोवाट छ । तर, सिजि मोटर्सले आफ्नो वेभसाइटमा यो गाडीको मोटरपावर जम्मा १ सय किलोवाट मात्रै रहेको उल्लेख गरेको छ । नेपाली बजारमा ५२ लाख रुपैयाँ बिक्री खुला गरिएको र बुकिङ समेत भएको यो गाडी आयातमा अहिले भंसार कार्यालयले नै रोक लगाएको छ । कतिपय बुकिङ गरिसकेका ग्राहकहरु समेत अलपत्र परेका छन् । कम्पनिका प्रतिनिधिले भने चीनबाट नेपाललाई सोही गाडी नभई फरक गाडी पठाएको दाबी गर्छन् । उनका अनुसार बुकिङ गरेका ग्राहकको गाडी आगामी असारदेखि आउनेछ ।

चौधरी समुहले वेभसाइटमा सार्वजनिक गरेको सोही गाडीको मोटर पावर १०० किलोवाट लेखिएको छ ।

पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट मार्फत १ सय किलोवाट क्षमताभन्दा कमको विद्युतिय गाडीमा भंसार र अन्तशुल्क छुट दिएका थिए । सोही कानुनी छिद्रलाई उपयोग गर्दै नयाँ बजेट आउनु अघि नै चौधरी समुहले नेटा एक्सको किलोवाट घटाएर नेपाल भित्र्याएको थियो । तत्कालिन अर्थमन्त्री शर्माले ५१ देखि १०० किलोवाट सम्मको विद्युतीय गाडीमा १५ प्रतिशत भन्सार दर र अन्तशुल्क १० प्रतिशत तोकेका थिए ।

भंसार विभागका महानिर्देशक ढुण्डीराज निरौलाकै सक्रियतामा विद्युतीय गाडीको किलोवाट क्षमताबारे अध्ययन भइरहेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा कुल ८ हजार चार सयि ९७ वटा विद्युतीय गाडी आयात भएका छन् । बजेट आउनुअघि अर्थात वैशाख महिनामा मात्रै १ हजार ४ सय ४ वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् । विभिन्न कम्पनिले नेपालमा वैशाखभित्रै २१ अर्ब ८ करोड ८० लाख रुपैयाँबराबरको विद्युतीय गाडी नेपाल भित्र्याएका छन् ।