पोखरा महानगरका मेयर धनराजको आफन्तवाद : भाईको जग्गामा सरकारी बजेटबाट वाल !

दियोपोस्ट संवाददाता  

कास्की । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सरकारी बजेटमा आफन्त र नातागोता पोस्ने कार्य गरेका छन् । मेयर आचार्यले आफ्ना भाई शिवराज आचार्यको जग्गामा वाल उठाउन सरकारी बजेट बिनियोजन गरि खर्च गराएको तथ्य भेटिएको छ ।

धनराजका भाई शिवराजले पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित आफ्नो नाममा ११ आना ३ पैसा जग्गा भएपनि २ रोपनी सरकारी जग्गा मिचेर बनाएको संरचनामा महानगरले ७५ लाख रुपैयाँ बजेट खर्च गरेको हो । फेवा तालको मापदण्ड मिचेर बनेको संरचनाका लागि महानगरले बिनियोजन गरेको बजेटले वाल उठाएर बनेको भवन भाडामा लगाएर शिवराजले लाखौँ रुपैयाँ अशुली गरिरहेका छन् ।

२०७९ सालमा महानगरको बजेटबाट पिपलधारा टोलको भित्रि सडक निर्माण गर्ने नाममा धनराजका भाईको जग्गामा वाल उठाइएको हो ।

पोखराको महानगरपालिका वडा नम्बर १७ साविक कित्ता नम्बर ५०२४ र कित्ता नम्बर ७००१ मा रहेको आचार्यको नामको ११ आनामा बनेको संरचनाको वाल उठाउँदा सरकारी बजेट खर्च भएपनि सरोकारावाल निकायले चासो समेत दिएका छैनन् ।

पोखराको विरौटामा रहेको विरुवा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष समेत रहेका शिव राजले सहकारीको बचत समेत हिनामिना गरेको आरोप छ । तर, दाई महानगरपालिकाको मेयर भएको र महानगर मातहतमै पर्ने भएकाले निष्पक्ष छानबीन समेत हुन नसकेको पीडितहरु बताउँछन् ।

पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले यो विषयमा आफूलाई केही जानकारी नभएको बताए । ‘मलाई केही जानकारी छैन । म यस विषयमा बुझ्छु,’ उनले भने ।

मेयर आचार्यका भाई शिवलाल आचार्यले यस विषयमा प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनले फोन उठाएनन् ।