पत्रकार महासंघ केन्द्रको निर्णयले मुगुका पत्रकारमाथि अन्याय, भन्छन्,‘२० वर्षको पत्रकारिता बालुवामा पानी भो’

कमल विश्वकर्मा  

मुगु । पत्रकार महासंघले मुगु जिल्लाबाट प्रतिनिधित्व गर्ने पत्रकारहरुको सुची सार्वजनिक गरेपछि उक्त सुचीमाथि प्रश्न उठेको छ । जिल्लामा क्रियाशिल पत्रकारहरुले महासंघ केन्द्रको निर्णय प्रति प्रश्न उठाएका हुन् । मुगु शाखका अध्यक्ष नृपेन्द्र मल्लले सिफारिस गरेको आधारमा महासंघ केन्द्रले गैर पत्रकारलाई पत्रकारको सुचीमा राखेको भन्दै विभिन्न संचार माध्यममा कार्यरत वास्तविक पत्रकारहरुले आपत्ति जनाएका हुन् । महासंघको मुगु अध्यक्ष मल्ले चुनाव नजकिँदै जाद्या आफू आबद्ध प्रेस युनियनका कार्यकर्ताको संख्या बढाएर निर्वाचनलाई प्रभावित पार्न खोजेको आरोप छ ।

मल्ल राष्ट्रिय समाचार समितिका जिल्ला प्रतिनिधि हुन् । उनले आफ्ना दाई हाल शिक्षक पेशामा कार्यरत विनोद मल्ल र दाजु नाता पर्ने शिक्षक पेशामा रहेका अर्का  मोहन मल्लको नाम सिफारिस गरेका थिए । मोहनको नाम हटाएर विनोदको नामलाई समेत महासंघ केन्द्रले सुचिकृत गरेर प्रकाशन गरेको छ । त्यस्तै अध्यक्ष मल्लका कारण विभिन्न राजनीतिक दलमा आवद्ध नेता, कार्यकर्ता, स्थायी र करारमा कार्यरत कर्मचारी र व्यापारीले समेत पत्रकार महासंघको सदस्यता बन्ने सौभाग्य पाएका छन् ।

कान्तिपुर दैनिकका मुगु संवाददाता महासंघका पूर्वअध्यक्ष समेत रहेका राजबहादुर शाहीले महासंघको निर्णयले पत्रकारीतामाथि नै खतरा भएको बताएका छन् । “अब कामै नगर्ने मान्छे महासंघमा आएर बस्नु उचित हुँदैन । महासंघमा आउने आइडी कार्ड लिने, म पत्रकार हुँ भन्ने, काम नगर्ने त्यस्तो हुँदैन । एउटा पत्रकार भइसकेपछि समाचार बनाउने, फिल्डमा जाने रिपोर्टिङ गर्दा ठिकै हुन्छ । त्यस्ता जागरुक भएका मान्छेहरू आउँदा राम्रो पनि हुन्छ । किनभने यो क्षेत्रमा पत्रकार कम छन् धेरै भए राम्रो पनि हुन्छ,’ उनले भने, “काम गर्ने मान्छे महासंघमा आउँदा राम्रो हो । तर कामै नगर्ने मान्छे संगठनमा आएर बस्नु राम्रो हुँदैन । त्यो उचित पनि होइन । त्यसले गर्दा समाजमा पत्रकारको महत्व घट्दै गएको छ । पत्रकारहरुको राजनीतिक गतिविधिले पत्रकारीताको महत्व घटेको छ । वास्तविक पत्रकारहरू अहिले ओझेलमा छन । शुद्धिकरणका नाममा अहिले आफ्ना मान्छे राख्ने र अरुका मान्छे फाल्ने गर्दा राम्रो देखिएन । यो क्रम जिल्लादेखि केन्द्रसम्म उस्तै छ ।”

 

नयाँ पत्रिका र शिलापत्रमा कार्यरत पत्रकार अच्युतराज भण्डारीले महासंघको केन्द्र प्रति शंका व्यक्त गरे । लामो समयदेखि पत्रकारिता गर्दै आउँदा पनि पहिलो पटक सदस्यताका सिफारिस हुँदा निजामति कर्मचारी भएको कारण देखाउदै नविकरण नभएको उनी बताउँछन् ।

दोस्रो पटकको प्रयासमा आफ्नो सदस्यता नविकरण भएको उनको दाबी छ । देशैभरी महासंघको सदस्यता नविकरणमा समस्या भएकाले त्यसमा रिपोर्टिङ गर्नुपर्ने उनको जिकिर छ ।

महासंघको मुगु शाखाका सचिव तथा अन्नपुर्णपोस्ट दैनिकका पत्रकार जिवन सेजुवाललाई यस विषयमा प्रतिक्रिया लिन पटक पटक सम्पर्क गर्दा उनको फोनमा सम्पर्क हुन सकेन ।

महासंघ मुगुका उपाध्यक्ष तथा न्युज २४ मा कार्यरत पत्रकार दान बहादुर बुढाको नाम नै नविकरणको सुचीबाट गायब भएको छ । आफ्नो सदस्यता नविकरणमा आफूमाथि राजनीति भएको उनको आरोप छ । ‘मैले दाबी विरोधको लागि निवेदन पेश गरेको छु । अब यस्तो भइसक्यो कि राजनीतिक पहुँच भयो सबै ठाउँमा । म पीडितभन्दा पनि महापीडित भएँ । मुगु जिल्लामा २० वर्षभन्दा बढी पत्रकारिता गरेको सबै बालुवामा पानी खन्याए सरह भयो,’ उनी भन्छन्,“माओवादी केन्द्र निकट प्रेस सेन्टरका साथीहरूको जिल्लाबाट नाम नगएको तर प्रदेशबाट एकाएक नाम लिस्ट सहित आएको बताएका छन् । कहिले पनि समाचार नलेखेका साथीहरूको नाम आयो । जिल्ला शाखाबाट नवीकरण र सिफारिस नगरेका धेरैका नाम प्रदेशबाट आएका छन् । पत्रकार महासंघले सुद्धिकरणको नियम पालना गर्छौं तर कोही स्थायी शिक्षकहरू, नगरपालिकाका कर्मचारीहरू, कोही आइएनजिओका कर्मचारीहरु र राजनीतिक दलका कार्यकर्ताहरु छन् । ती सबैको नाम राजनीति दबावमा आएको हो । जिल्लामा सक्रिय पत्रकारको नाम भने नआउने यो न्याय संगत भएन ।’

 

महासंघका अध्यक्ष मल्ललाई यस विषयमा प्रश्न गर्दा कागजातको आधारमा आफूहरुले सिफारिस गरेको दाबी गरे । “महासंघको केन्द्रले जिल्लाबाट पठाएका नयाँ र नविकरणका नाम हटाइदिएको र जिल्लाले सिफारिस नगरेका व्यक्तिको नाम थपेर हस्तक्षेप गरेकोे हो,’ उनले भने ‘यसले पत्रकारिता गरेको छ गरेको छैन भनेर हामीले मुखले भन्ने होइन नि । सदस्यता पाउँ भनेर डकुमेन्ट पेश गरेको छ । हामीलाई जे डकुमेन्ट दिएको छ त्यही डकुमेन्ट प्रदेशलाई पठाउने हो । प्रदेशले पनि छानबिन गरेर केन्द्रलाई पठाउने हो त्यो पत्रकार हो होइन हामीले छुटाउन नसक्ने र प्रमाणका आधारमा सदस्यता दिने गरेको हो ।’

उनले महासंघ केन्द्रले हस्तक्षेप गरेका कारण देशभर विरोध भएको र तालाबन्दी समेत भएको बताए ।

‘सुद्धिकरणको नाममा महासंघ केन्द्रले असुद्धिकरण गरेको छ । कोही जिल्लामा सेनाका जागिरेलाई महासंघको सदस्य नविकरण गरिएको छ, कहीँ कर्मचारी र शिक्षकलाई गरिएको छ,’ उनले भने ।

पत्रकार महासंघले सुद्धिकरणका नाममा विभिन्न व्यक्तिको नाम हटाउने र गैरपत्रकारको नाम राख्ने गरि पछिल्लो नामावली प्रकाशन गरेपछि देशैभरी पत्रकारहरुले विरोध गरिरहेका छन् । केहीदिन अघि पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको थियो । तर, निर्वाचन गर्ने सम्झौता भएपछि अहिले तालाबन्दी खोलिएको छ । आगामी असार २२ गते महासघको देशैभर निर्वाचन हुने कार्यतालिका प्रकाशन भएको छ ।