काठमाडौँ । तीनकुने घटनामा प्रतिवादी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रको मुद्दामा आज थुनछेक बहस भएको छ । थुनछेक बहसको अन्तिममा मिश्रले आमाको कसम खाँदै राज्य बिरुद्ध कुनै अपराध नगरेको जिकिर गरे ।
उनले आफ्नी ८२ वर्षीया आमाको कसम खाँदै राज्यविरुद्धको कसुर नगरेको दाबी गरेका हुन् । आमाको हेरचाह गर्नुपर्ने भएकाले आफू भागेर कतै नजाने भन्दै उनले आजको थुनछेक बहसमा पनि आमाको कसम खाए । यसअघि गत वैशाख १० गते जिल्ला र जेठ २ गते सर्वोच्चमा पनि उनले आमाको कसम खाएका थिए ।
मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासमा वरिष्ठ अधिवक्ताहरु गोविन्द बन्दी, भिमार्जुन आचार्य, राजु बस्नेत र सतिशकृष्ण खरेलले मिश्रको तर्फबाट र सरकारी वकिलका तर्फबाट ८ जनाले बहस गरेका थिए । अदालतले मिश्रलाई तीन लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ ।
तीनकुने घटनामा प्रतिवादी बनाइएका उनी मङ्गलबार बिहान आफैँ अदालतमा उपस्थित भएका हुन्। गत जेठ ११ मा मिश्र विरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको हो ।
तीनकुने घटना भएको चैत १५ कै राति मिश्र पक्राउ परेका थिए । पक्राउविरुद्ध उनी सर्वोच्च अदालतमा बन्द्रीप्रत्यक्षीकरणको रिट बोकेर सर्वोच्च पुगेका थिए । जसमा सर्वोच्चले उनलाई रिहा गर्न आदेश दिएको थियो । सो आदेशलगत्तै हाजिर जमानीमा रिहा भएका उनी सम्पर्क विहीन हुँदै आएका थिए ।
सोही मुद्दामा सोमबार राप्रपाका महामन्त्री धवलशमशेर राणा पनि ३ लाख धरौटीमा रिहा भएका थिए ।