काठमाडौं, २२ जेठ । ‘म बाँच्न चाहान्छु, म पनि तपाइंको छोरा जस्तै हो, कृपया मलाई बचाउनुस्,’ यो एउटा किशोरको याचना हो ।
अर्घाखाँची जिल्ला मालरानी गाउँपालिका वडा नं. १ रानिचौरका १७ वर्षिय प्रकाश एक वर्षदेखि यस्तै याचना गर्दै आएका छन् । एक वर्षअघि उनका दुवै मृगौला बिग्रिए । उनी भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत छन् । तर उपचारका लागि उनीसंग न पैसा छ न त जायजेथा नै । सम्पतीको नाममा गाउँमा सानो झुपडी र एक हल गोरु बाहेक अरु केही छैन ।
एक वर्ष पहिले प्रकाशलाई एक्कासी वान्ता हुने, आखा सुन्निने, खाना नरुच्ने तथा रातमा निद्रा नलाग्ने जस्ता लक्षण देखा परे । ‘देवी देवता रिसाएर यस्तो भयो कि’ भनेर उनका बाबु कृष्ण कामीले धामी झाक्री तथा झारफुक तिर लागे । तर प्रकाशलाई निको भएन । गाउँकै स्थानीय स्वास्थ्य चौकीका डाक्टर मदन आचार्यको सल्लाहमा उनले बिरामी छोरालाई लिएर बुटवल आए । बुटवलस्थित गौतमबुद्ध अस्पतालमा जाँच गराउँदा छोराको दुबै मृगौला फेल भएको रिपोर्ट आयो । अस्पतालको रिपोर्ट देखे पछि उनको होस हवास् नै उड्यो । उनी छाँगाबाट खसेजस्तै भए, अनि निकै आत्तिए । नआत्तिउन पनि कसरी? छोराको उपचारका लागि उनीसंग पैसा थिएन ।
यता छोराको किड्नी फेल भएको खवर सुन्नासाथ उनकी आमा सन्तोषी बिक बेहोस भइन् । त्यतीबेला देखि होस गुमाएकी सन्तोषी अहिले पनि अर्ध बेहोसी अवस्थामा छिन् । बिरामी छोरा र बेहोस श्रीमतीलाई सम्हाल्न कृष्ण एक्लैलाई मुस्किल भयो । त्यस माथि उपचारका लागि कसरी पैसा जुटाउने भने चिन्ताले कृष्णलाई पिरोल्न थाल्यो ।
छोरालाई बचाउने झिनो आशा बोकेर राजधानी आएका कृष्ण काठमाडाैँ आएको एक वर्ष भइसक्यो तर आर्थिक अभावका कारण प्रकाशको उपचार हुन सकेको छैन । आर्थिक अभावकै कारण छोराले उपचार नपाएको भन्दै उनले दुख ब्यक्त गर्छन् ।
डाक्टरले नयाँ मृगौला प्रत्यारोपण गर्नका लागि कम्तीमा १० लाख रुपैयाँ रकम जुटाउन सुझाव दिएका छन् । गाउँबाट ऋण खोजेर ल्यएको पैसा राजधानीमा कोठा भाडा तिर्न, औषधोपचार गर्न र रासन पानी किन्न मै सकियो । ‘यती ठुलो रकम कहाँ बाट ल्याउनु ? कसैसंग ऋण माग्यो भने तिर्न नसक्ने देखेर ऋण दिन मान्दैनन्,’ उनले भने,– ‘गरिवलाई ठूलो रोग नलागे नि हुने नि, सबैभन्दा ठुलो पैसा रहेछ । एक हल गोरु बेचेर के हुन्थ्यो ।’
पैसाको अभावमा छोराले उपचार नपाउने हो कि ? भन्ने पिरलो बोकेर कृष्ण काठमाडौँका गल्ली गल्ली भौतारिरहेका छन् । यद्यपी, सरकारले मृगौला पीडितको डाइलासिस र औषधी खर्च निशुल्क भनेको छ । तर नयाँ मृगौला प्रत्यारोपण गरे पश्चात मात्र सरकारी सुबिधा पाइने हुँदा प्रत्यारोपण खर्च जुटाउन उनलाई हम्मे हम्मे परेको छ । छोराको मृगौला प्रत्यारोपण गर्नका लागि आफुले अस्पतालले भने जति रकम जुटाउन नसक्ने उनले बताए ।
पैसा जम्मा भएको खण्डमा आफैले छोरालाई मृगौला दान गर्ने उनको योजना छ तर उपचारका लागि कतैबाट ऋण समेत नपाएको भन्दै कृष्णले दुख ब्यक्त गरे ।
गाउँमा एक हल गोरु पालेका कृष्णले जोतेर जेनतेन परिवार पाल्दै आएका थिए । गाउँमा कसैको खेत बारी जोत्नु पर्यो भने सबैले किसनलाई सम्झिन्थे । उनी बोलाएको ठाउँमा गोरु लिएर जोत्न उपस्थित भइ हाल्थे । तर छोरा बिरामी भएयता उनको आम्दानीको स्रोत पनि गुम्यो । आफुले दुख गरेर पालेका गोरु (जो उनको आम्दानीका स्रोत थिए) कहाँ गए, उनलाई थाहा छैन ।
उता अर्ध चेतमा रहेकी श्रीमतीलाई सम्हालिदिने कोही छैन । सन्तोषीले घरि–घरि आफ्नै श्रीमान चिन्दिनन् । एकोहोरिने, आफ्नै सुरमा हाँसिरहने, रोइरहने गर्छिन् । उपचार गरेको खण्डमा उनलाई निको हुने डाक्टरले बताउदैँ आएका छन् । तर छोराकै उपचारका लागि पैसा छैन, श्रमतीकाे उपचार कसरी गर्ने? ‘छोराले उपचार पायो भने श्रीमतीको पनि उपचार गर्छु’, उनले आफ्नो योजना सुनाए ।
आर्थिक अभावका कारण तीन महिनादेखि कोठा भाडा तिर्न नसकेको उनले बताए । ‘कुन दिन घरबेटीले घरबाट निकालिदिने हुन्, भाडा तिर्ने पैसा छैन ।’, उनले शंका ब्यक्त गरे । यता राजधानीमा खाने बस्ने केही ठेगान छैन । ‘पैसा नभएपछि कसैले नपत्याउने रहेछ ।’ उनले दियो पोष्टसंग आफ्नो बिवशता सुनाए ।
अर्घाखाँचीको मरेङ्गस्थित श्री सिद्ध ने.रा.मा.बि.भण्डारथुममा कक्षा १० मा पढ्दै गरेका प्रकाश पढाइमा अब्बल थिए । पढेर ब्यापार ब्यवसाय गर्ने सपना देखेका प्रकाश यतिबेला बाँच्ने सपना बोकर मृत्यु श्यैयामा छट्पटाइरहेका छन् ।
‘म बाँच्न चाहान्छु, कृपया मलाई बचाइदिनुहोस्’, प्रकाशले आर्थिक सहयोगका लागि अपिल गरेका छन् । ‘यति छिट्टै मर्न पर्छ भने म त नजन्मेकै भए हुन्थ्यो’, उनले आफ्नो पीडा सुनाए ।
आफ्नो छोरालाई बचाइदिनका लागि किशनले सबैसंग आग्रह गरेका छन् । ‘मेरो छोरालाई पनि आफ्नै छोरा सम्झेर उपचारका लागि सहगोग गरिदिनु होला’, कृष्णले दियो पोष्टसंग रुँदै भने ।
प्रकाशको जीवन बचाउनका लागि आर्थिक सहयोग गर्नुहुने सहयोगीले प्रकाशका बुवा कृष्णे कामीको नाममा रहेको खाता नम्वर, ३३०७०१००४१२२१ ग्लोवल आइएमी बैंक पानीपोखरी शाखा, काठमाडौँमा सिधै रकम जम्मा गर्न सक्नु हुनेछ ।
कृष्णे कामी, खाता नं- ३३०७०१००४१२२१ ग्लोवल आइएमी बैंक, पानीपोखरी शाखा, काठमाडौँ ।