६ सय रोपनी सरकारी जग्गा परिवारको नाममा गर्ने मालपोत अधिकृतसहित १६ जनाविरुद्ध अख्तियारको मुद्धा !

दियो पोस्ट  


काठमाडौँ, असार २ । मालपोत कार्यलय जुम्लाका तत्कालिन निमित्त कार्यलय प्रमुख एवं मालपोत अधिकृत गोबिन्द प्रसाद न्यौपाने सहित १६ जना विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

जुम्लाको गुठिचौरमा रहेको भेडाबाख्रा फारमको नाममा रहेको ३ लाख वर्गमिटर अर्थात ५ सय ९० रोपनी जग्गा परिवारको नाममा नामसारी गर्ने मालपोत अधिकृत न्यौपाने सहित १६ जना विरुद्ध अख्तियारमा मुद्दा दायर भएको हो । न्यौपानेले ५९० रोपनी सरकारी जग्गा श्रीमती, छोरी र नातागोताको नाममा पास गराएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घटनामा संलग्न १६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

न्यौपानेसँगै मालपोत कार्यलय जुम्लाका खरिदार एवं अहिलेका मालपोत कार्यलय चावहिलका नायब सुब्बा विजय शर्मा न्यौपाने र तत्कालिन भेडा बाख्रा अनुसन्धान कार्यक्रम गुठिचौर जुम्लाका तत्कालिन कार्यलय प्रमुख यमुना कुमार श्रेष्ठलाई जनही ४५ लाख रुपैयाँ बिगो तोकिएको छ । जग्गा दर्ता गरि लिने हरीहर न्यौपानेलाई २ लाख २५ हजार विगो तोकिएको छ ।

मुनीशचन्द्र न्यौपाने, मायाँलाल न्यौपाने विष्णु ऋषी न्यौपाने, विष्णुलाल न्यौपाने, नव ऋषि न्यौपाने र कविदत्त न्यौपानेलाई जनही ३ लाख रुपैयाँ बिगो कायम गरिएको छ । यस्तै विष्णु न्यौपानेलाई ४ लाख ९५ हजार, पार्वति न्यौपानेलाई ५ लाख २२ हजार, गोमा न्यौपानेलाई ५ लाख २७ हजार, देवेन्द्र प्रसाद उपाध्यायलाई १ लाख ९९ हजार, केशवराज न्यौपानेलाई २ लाख र जानकी दत्त देवकोटालाई ३० हजार रुपैयाँ बिगो तोकिएको छ । उनीहरुलाई जनही १० वर्ष कैद सजाय र जग्गाको मुल्य बराबरको बिगो र जरिवाना तोकिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

सिफारिस