काठमाडौँ, असार ३ । संसदमा दर्ता भएका अधिकांश विधेयकको बारेमा नेकपाकै शीर्ष नेताहरु अनभिज्ञ रहने गरेको खुलेको छ । संसदमा दर्ता भएपछि जनताबाट आउने प्रतिक्रिया र हल्लाले मात्रै विधेयक दर्ता भयो भन्ने थाहा पाउने गरेको नेकपाकै शीर्ष नेताहरु बताउँछन् ।
संसदमा विधेयक पेश गर्नुभन्दा पहिले पार्टीको नेतृत्व तहमा सो विधेयकको विषयमा छलफल गर्नुपर्ने हो तर नेकपा भित्र त्यस्तो हुने नगरेको नेकपाकै वरिष्ठ नेता झलनाथ खनाल बताउँछन् । शीर्ष तहमा छलफल नभएकै कारण पार्टीका सांसदहरुले सदनमा धारणा राख्न नसकेको उनि बताउँछन् । उनले भने, ‘चिकित्सा शिक्षा, मिडिया काउन्सिलदेखि गुठिसम्मका थुप्रै विधेयक संसदमा दर्ता भएपछि विवादमा आए । तर, नेताहरुले स्पष्ट धारणा राखेको पाइएन । यस्ता महत्वपुर्ण नीतिगत विषयमा पार्टी नेतृत्वमा छलफल हुन्छ कि हुँदैन ?’
सरकारले कुनैपनि विधेयक ल्याउँदा पार्टीको उच्च स्तरमा छलफल भएको हुनुपर्छ, नीति निर्णय भएको हुनुपर्छ , समझदारी निर्णय भएपछि मात्र विधेयक आउनुपर्नेमा विनाछलफल एक्कासी सदनमा दर्ता गरिएपछि विधेयकको विषयमा नेकपाकै सांसद पनि अन्यौलमा पर्ने गरेको बताएका छन् ।
सिंसदमा दर्ता भएको विधेयक सकारात्मक छ कि त्रुटीपुर्ण छ भन्नेकुरा जनताको प्रतिक्रिया र संचारमाध्यमहरुबाट थाहा हुने नेता नेपालले बताए । यसैकारण पनि सरकार विवादमा फसिरहेको बताए । पार्टी विधि र पक्रियाअनुसार नचेलेकै कारण सरकार अप्ठ्यारोमा परेको बताए । उनले पार्टी र सरकारबिच समन्वय हुन सकेको खण्डमा मात्र सरकार सफल हुन सक्ने बताएका छन् ।