काठमाडौँ, असार ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा काँग्रेसको क्रियाकलाप लोकतान्त्रिक विधि विपरित रहेको बताएका छन् । मंगलबार संसदलाई सम्वोधन गर्न नदिएपछि पत्रकार सम्मेलन गरेका प्रधानमन्त्री ओलीले सदनभित्र काँग्रेसले अमर्यादित र असंसदीय व्यवहार देखाएको आरोप लगाएका छन् ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलहरुलाई दक्षिणपन्थी प्रतिगामी शक्तिको मोर्चावन्दीको संज्ञा दिएका छन् । प्रधानमन्त्रीले संसदमा बोल्न समय लिइसकेपछि प्रधानमन्त्री भन्दा अगाडी बोल्न पाउनुपर्छ भन्ने व्यवस्था लोकतन्त्रमा नभएको बताउँदैं उनले लोकतन्त्रको गलत व्याख्या गर्दै पछिल्लो समय नेपाली काँग्रेसले निहु खोज्न थालेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री ओलीले काँग्रेस सभापति शेर बहादुर देउवा नै रोष्टम घेर्न आएको प्रति आश्चर्य व्यक्त गरे । मेरा लामो समयदेखिका मित्र, लोकतान्त्रिक आन्दोलनका सहयात्री, आफैं नेतृत्व गरेर बेल घेर्ने कामको नेतृत्व गरेर जानुभयो, प्रधानमन्त्रीले भने, म आश्चर्यचिकत भएँ, उहाँले संसदीय मर्यादा थाहा पाउनुपर्ने हो।
परिवर्तनकारी शक्तिहरु नमिल्दा र प्रतिकृयावादी शक्तिसँग मिलेकाले नै २००७ सात सालपछि संविधान बन्न लामो समय लागेको भन्दै प्रधानमन्त्री ओलीले २०१७ को घटना भएको स्मरण गराए । लोकतान्त्रिक आवरणभित्र प्रतिकृयावदी र प्रतिगामी र संकिर्णवादी चरित्र रहेको प्रधानमन्त्रीको भनाई छ ।
उनले काँग्रेसको यस्तै चरित्र रहे लोकतान्त्रिक अभ्यास अघि बढ्न नसक्ने चेतावनी दिए । प्राप्त उपलव्धिको रक्षा गर्नु सवैको दायित्व रहेको भन्दै उनले वर्तमान सरकार लोकतन्त्र र रष्ट्रियताप्रति दृढसंकल्प रहेको बताए ।