कर्णाली नदीमा खसेको जिप अझै भेटिएन, काठमाडौँबाट सेनाको हेलिकप्टर जाँदै !

दियो पोस्ट  

काठमाडौँ, असार ३ । हुम्लाको खार्पुनाथ गाउँपालिका ५ को बेडुबीसुना जिउला र कैल्याबालुको बिचमा पर्ने सडकबाट कर्णाली नदिमा खसेको जिप अहिलेसम्म पनि भेटिएको छैन । मंगलबार दिउँसो लु १ ज ७१६६ नम्बरको यात्रुबाहक जिप खार्पुदेखि याङचुबजार जाँदै गर्दा सडकबाट २० मिटर तल रहेको कर्णाली नदिमा खसेको थियो ।

१६ जनाको सीट क्षमता भएको उक्त जीपमा कति सवार थिए भन्ने विवरण आइनसकेको जिल्ला प्रशासन कार्यलयका सुचना अधिकारी महेश कुमार पोखरेलले दियोपोस्टसंग बताएका छन् । पोखरेलका अनुसार उक्त जीपमा खार्पु गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल समेत सवार थिए । उपाध्यक्ष हमाल संगै जिप चालक सिमकोट ८ याङगुका मणि शाही, यात्रुहरु खार्पुनाथ ४ छिप्राका चन्द्र हमाल, खार्पुनाथ ४ नल्नाका नैनसिंह भण्डारी, खार्पुनाथ ५ याङचुका बसन्ती शाही, नन्ददेवी सिंह र गोकुल सुनार खार्पुनाथ १ पिउसकी कौरा दमाई उनका दुई वर्षीय छोरा र नाम नखुलेको ओल्डिङ मास्टर वेपत्ता रहेको पोखरेलले बताए । उक्त जिपमा अन्य मानिसहरु पनि हुनसक्ने बताइएको छ ।

दुर्घटना भएको खबर प्राप्त भएपछि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीहरु उद्धारका निम्ति गएका थिए । तर, दुर्घटना भएको १ दिन वितिसक्दा पनि कुनै नतिजा निस्कन नसकेपछि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर बोलाइएको निमित्त प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । सो हेलिकप्टरले कुरिन्टारबाट नेपाली सेनाको गोताखोरलाई ल्याउनेछ ।

TATA ADD