काठमाडौँ, असार ९ । विप्लव समुहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएपछि सत्तापक्ष दल नेकपाभित्रै विवाद हुन थालेको छ । संसदको राज्यव्यवस्था समितिको सोमबारको वैठकमा पुर्व गृहमन्त्री जनार्दन शर्माले नै सरकारको कृयाकलाप माथि प्रश्न उठाएका छन् । उनले विप्लव माओवादीका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेललाई मुठभेडको नाम दिएर हत्या गरेको अभिव्यक्ति दिएका छन् ।
वैठकमा गृहमन्त्री राम बहादुर थापा बादलले कुमार पौडेल प्रहरी मुठभेडमै मारिएको बताएका छन् । सो समुहले प्रहरीलाइ आक्रमण गरेपछि प्रहरी प्रत्याक्रमणमा उत्रिएकोे र मुठभेड भएपछि जिल्ला इञ्चार्ज पौडेलको मृत्यु भएको बताए । गृहमन्त्रीका अनुसार घटनास्थलबाट मेड इन युएसए लेखिएको रिभल्बर एक थान, कटुवा पेस्तोल एक थान र तीनमा लाग्ने गोली ६ थान बरामद भएको जानकारी पनि मन्त्री थापाले गराए । साथै बिष्फोटका लागि प्रयोग हुने केही सामाग्री, अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ लेखिएको कसैको नाम उल्लेख नगरिएको परिचय पत्र २ सय थान, ना २२ प ६४ नम्बरको पल्सर मोटरसाइकल एक थान र अनटेस्ट एफजेड मोटरसाइकल एक थान पनि बरामद गरिएको छ ।
गृहमन्त्री थापाले विप्लव समुहलार्ई सखाप पार्ने सरकारको कुनैपनि नीति नभएको बताउँदै घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् । विप्लव समूहले लालबन्दी र हरिऔन इलाकाका स्थानीय जनप्रतिनिधि, व्यापारी, व्यवसायी एवम् सर्वसाधारण व्यक्तिहरुलाई धेरै समय अगाडिदेखि जबर्जस्ती चन्दा माग्ने, चन्दा नदिएमा ज्यान मार्ने लगायतका धम्कीहरु दिने र जनमानसमा आतंक सिर्जना गर्ने गरेको मन्त्री थापाको भनाइ छ ।
पुर्वगृहमन्त्री समेत रहेका नेकपाका नेता जनार्दन शर्माले भने सरकारले नियोजित रुपमा कुमार पौडेलको हत्या गरेको आरोप लगाएका छन् । उनले राजनीतिक मुद्धालाई राजनीतिक ढंगले समाधान गर्नुृपर्ने बताउँदै सरकारले मुठभेडको नाममा कुमारको हत्या गरेको बताए । उनले प्रहरी र गृहमन्त्रीले मुठभेडमा मारिएको भनेतापनी जनताले त्यसलाई विश्वास नगर्ने दावि गरेका छन् ।
प्रहरीको गोली लागेर मृत्यु भएको भनि रिपोर्टमा लेखिएको भएतापनी पोस्टमार्टम रिपोर्टमा कुमारको हात ६÷७ ठाउँमा भाँचिएको देखिएकोले घटना शंकास्पद रहेको बताए । गोली लागेको मानिसको हात ६÷७ ठाउँमा कसरी भाँचिन्छ ? उनले प्रश्न गर्दै सरकारको कृयाकलापले देश पुनः द्वन्दतर्फ जाने बताए । उनले विप्लव समुहमाथि सरकारले लगाइराखेको प्रतिबन्ध पनि आवश्यक नभएको बताए ।
पौडेल यही असार ५ गते अन्दाजी २ बजे लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारामा रहेको उत्तर–दक्षिण बाटोमा प्रहरीको गोलीबाट मारिएका थिए ।