काठमाडौँ, असार ९ । बहुचर्चित गीत ‘गलबन्दी’ ले संसदमा समेत स्थान पाएको छ । सोमबारको प्रतिनिधि सभा वैठकमा नेपाली काँग्रेसका सांसद मीन विश्वकर्माले गलबन्दी गीतलाई लिएर दलित समुदायमाथि अपमान जनक शब्दहरु प्रयोग भएको भन्दै कारवाहीको माग गरेका छन् ।
प्रकाश सपुतले गाएको गीत शम्भु राईसंग केही मात्रामा मिल्न गएपछि सामाजिक संजालमा सिंगो दलित समुदायहरुमाथि नै प्रहार हुनेगरि अपमानजनक शब्दहरु प्रयोग गरिएपछि सांसद विश्वकर्माले तत्काल कारवाहीको माग गरेका छन् । जातिय द्वन्द फैलाउने किसिमका अभिव्यक्तिहरुलाई तत्काल नियन्त्रण गर्दै त्यस्ता खालका शब्द प्रयोग गर्नेहरुलाई तुरुन्त कडा कारवाही गर्न माग गरेका छन् ।
उनले गलबन्दी गीत शम्भु राईको गीतसंग नमिलेको पनि बताएका छन् । नेपाली लोक भाका भएकै कारण केही हदसम्म लय मिलेका बताए । ‘लोक भाका भएपछि अवश्य पनि कहीँ मिल्न जानु स्वभाविक हो ’ उनले भने ‘तर, उल्टै शम्भु राई र उनका मतियारहरूले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रकाश सपुतलाई जातीय भेदभावका दृष्टिले अति नीच गालीगलौज गर्ने र उनलाई हतोत्साही बनाउन निरन्तर लागि परेको देखिन्छ । त्यतिमात्रै होइन, संविधान, कानून र सामाजिक सद्भावको बर्खिलाप हुने गरी सिंगो दलित समुदायलाई अपमानित हुने गरी उनीहरूमाथि नीच ढंगले जातीय भेदभाव र अपमान गरेको हुनाले साइबर कानून, जातीय छुवाछुट तथा कसूर सजाय ऐन र संविधानको धारा २४ अन्तर्गत उनीहरूलाई तत्काल कानूनी दायरामा ल्याउन माग गर्दछु ।
सांसद मीन विश्वकर्माले संसदमा बोलेको कुरा उनकै शब्दमा
विगत केही दिनदेखि के बालक, के तरुण, के यवा, के वृद्धा सबैको मुखमा हरपल गुनगुनाइरहने धुन बनेको छ– गलबन्दी च्यातियो तिमीले तानेर.. । नेपाली सांगीतिक इतिहासमा यति छोटो समयमा डेढ करोड दर्शक बनाउनु चानचुने कुरा होइन ।
संसारभरि नेपाली मनले मात्रै होइन विदेशी मनले पनि यही धुन गुनगुनाइरहेका छन् । यसमा नेपालको मौलिक संस्कृतिलाई समृद्ध बनाउने कलाकार प्रकाश सपुत र शान्तिश्री परियारलाई हार्दिक शुभकामना तथा बधाई व्यक्त गर्दछु । सरकारको सम्बन्धित निकायले उनीहरूलाई उच्च सम्मान गर्नुपर्नेमा सत्तारुढ दलकै भातृसंस्थामा आवद्ध कलाकार शम्भु राईले मेरो लय नक्कल गरेको भनी मुद्दा हालेछन् ।
हामीले ख्याल गर्नुपर्ने कुरा के भने लोकभाका भनेकै पूर्वजहरूले गाउँदै उनीहरूका अनुयायीले पछ्याउँदै पुस्तौंपुस्तासम्म जीवित राख्नु हो । एक दिन, एक पटक, एक कलाकारले कुनै एक समयमा गाएको, गाउने वा रेकर्ड गरिएको गीत लोकभाका हुन सक्दैन । गाउँघर, रोदीघर, रत्यौली वा मेलापातमा जाँदा स्वतःस्फूर्त रुपमा गाउने भाका नै लोकभाका हो । यो भाका न नक्कल हुन्छ, न चोरी गरिन्छ ।
यद्यपि प्रकाश सपुतले गाएको उक्त भाका कसैसँग मेल खाँदैन । शम्भु राईसँग मेल खाने त कुरै भएन । तर, विडम्बना एक सामान्य कलाकारले अति मन छुने स्वर, शैली र छायांकनसमेत गरी प्रस्तुत गरेको गीतमा एक फरक भूगोल, फरक परिवेश, फरक शैली र फरक कालखण्डमा उस्तैउस्तै गीत मैले पनि गाएको थिएँ । नक्कल भयो भनी मुद्दा हाल्न पुग्नु एक प्रतिष्ठित कलाकारका लागि लज्जाको विषय बन्नु पर्ने हो ।
तर, उल्टै शम्भु राई र उनका मतियारहरूले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रकाश सपुतलाई जातीय भेदभावका दृष्टिले अति नीच गालीगलौज गर्ने र उनलाई हतोत्साही बनाउन निरन्तर लागि परेको देखिन्छ । त्यतिमात्रै होइन, संविधान, कानून र सामाजिक सद्भावको बर्खिलाप हुने गरी सिंगो दलित समुदायलाई अपमानित हुने गरी उनीहरूमाथि नीच ढंगले जातीय भेदभाव र अपमान गरेको हुनाले साइबर कानून, जातीय छुवाछुट तथा कसूर सजायँ ऐन र संविधानको धारा २४ अन्तर्गत उनीहरूलाई तत्काल कानूनी दायरामा ल्याउन माग गर्दछु ।