काठमाडौँ, असार ९ । मोरङबाट हतियारसहित पक्राउ परेका तीन जना व्यक्ति विप्लव समुहका कार्यकर्ता भएको खुलेको छ । पक्राउ पर्नेहरुमा सुन्दरहरैँचा १२ का अशोक राई, कानेपोखरी ६ का कंश धिमाल र उर्लाबारी २ का केन्द्रलाल धिमाल रहेका छन् ।
पक्राउ पर्नेमध्य अशोक राई विप्लव समुुहको मोरङ जिल्ला जनपरिषद प्रमुख हुन भने अन्य २ जना कार्यकर्ता रहेका छन् । उनिहरुको साथबाट दुई थान अटोमेटिक पेस्तोल, ४ थान म्यागजित र १४ राउण्ड गोलीसमेत बरामद गरिएको छ । उक्त हतियार प्रहरीले कंश धिमालको घरबाटै बरामद गरेको हो ।
यस्तै केन्द्रलालको घरमा लुकाई राखेको तीन नाल भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने बारुद, छर्रा, नटबोल्ट, केपवासर, पुल्थ्रोमा प्रयोग भएको कपडालगायतका सामग्री बरामद भएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकाहरूमध्येका कंश २०६६ सालमा उर्लाबारी मंगलबारेस्थित सुनचाँदी पसल लुटपाट घटनामा डाँका मुद्दा चलाएको, दमकको लक्ष्मी बैंक लुटपाटको घटनामा सात वर्ष कैद भुक्तान गरेका सकेका छन् । । पक्राउ परेका व्यक्तिहरूलाई मुलुकी फौजदारी अपराध ऐन २०७४ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।