प्रकाश सपुतमाथि सामाजिक सञ्जालमा ‘जातिय छुवाछुत’ : प्रहरी भन्छ,‘जाहेरी दिए कारबाही हुन्छ’

प्रकाश सपुतमाथि  सामाजिक सञ्जालमा ‘जातिय छुवाछुत’ : प्रहरी भन्छ,‘जाहेरी दिए कारबाही हुन्छ’

काठमाडौँ । चर्चित लोक गीत ‘गलबन्दी’को लय चोरी गरेको आरोप खेप्दै आएका गायक प्रकाश सपुतमाथि जातिय अपमान दर्शाउने खालका अपशब्द तथा गालि गलौजले यतिबेला सामाजिक संजाल रङ्गीएको छ ।


गीतको लय कपी गरेको आरोप प्रमाणित भए सर्जकहरू बीच सहमति गर्ने र कÞानूनी उपचार खोज्ने अधिकार कानुनमै उल्लेख छ । तर सम्पूर्ण दलित समुदायमाथि अपमान गर्ने खालका तुच्छ शब्द प्रयोग गरेर सामाजिक संजालमा जातिय विभाजन नै शुरु भएको छ ।


सामाजिक संजालमा सुवास मंगोल नाम गरेको एक फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ‘जतिसुकै जे भनेपनी कामी दमाईले आफ्नो औकात देखाएर जात जनाउँछ भनेको हो रैछ । आफूभन्दा अग्रज स्रस्टा शम्भु राई ज्यूको गितको लय र भाकाको अंश चोरेर झन आफै ठूलोकुरो गर्ने र अग्रज स्रस्टाको अपमान गर्ने यी प्रकाश सपुत भन्नेको कामीको मानसिकता पनि दलित नै रैछ ।


संजिव राज कान्छा नाम गरेका अर्का फेसबुक प्रयोगकर्ताले पनि एक गितलाई लिएर जातिय विभेद झल्काउने खालको अभिव्यक्ति दिएका छन् । उनले लेखेका छन्, ‘थुक्क कामी कुजात मागेर खाने जात मागेर खानु के चोरेर खाएको होला राणिको छोरा कामीले पहिलो दोहोरी ब्याटल पनि चोरको आरोप लागेको थियो फेरी किन चोर्नु हुनत कामी दमैहरु पुर्खादेखि चाडपर्व बिहेमा गाउँदै चान्दै हाम्रो खुट्टा ढोग्दै खाने जातहरु हुन आफै गित लय बनाएर गाउन पनि सक्नुपर्यो नि मागेर हिँड्दा अरुको गितहरु गाउँदै हिड्थ्यो एल्बम निकाल्दापनि अरुकै गित लय हालेछ ठिकै छ शम्भु राई जस्तो राजा महाराजाले यस्तो मागेर खाने जात भिखारीलाई छोड्दिनु पथ्र्यो के ल्याङ गरिरहेको होला गुहुमा ढुंगा हान्दा आफैतिर उछिटिन्छ यस्तो सानो जात सानो सोच भएका कुजातहरुसँग दोहोरो बोल्नुपनि नहुने हो । ’

सामाजिक संजालमा पोखिएका गाली र अपमापनित शब्दहरु प्रति दलित अधिकारकर्मीहरुको ध्यानाकर्षण गरेका छन् । यसअघि धारा, चौतारा तथा सार्वजनिक स्थलमा हुने विभेदको रुप यतिबेला सामाजिक सञ्जालमा पोखिन थालेको छ ।


गीत संगीतको विषयलाई कुनै एक व्यक्तिको सानो गल्ती तथा कमजोरीलाई असभ्य शैलिमा जातसंग जोडेर अपमानित शब्द प्रयोग गर्दै बेइजती गर्ने परम्परा एक्काइसौ सताव्दीमा नसुहाउने उनीहरुको भनाई छ ।


विभेद र विभेद जन्य शब्दको प्रयोग गर्दै मानवता विरोधी सँस्कृतिलाई बचाँइ राख्ने पछौटे सोचका कारण यस्तो अभिब्यक्ति आएको बताउँछन् दलित अधिकार कर्मी गोपाल शिवा ।

सोमबारको प्रतिनिधि सभामा समेत प्रकाश सपुतको गीत र सामाजिक संजालमा पोखिएका अभिव्यक्तिहरुको विषयले प्रवेश पाएको छ । नेपाली कांग्रेसका सांसद तथा पुर्वमन्त्री मीन विश्वकर्माले संसदमा बोल्दै गायक प्रकाश सपुतलाई उचित सम्मान गर्नुपनमा उल्टै तथानामा गाली गलौज भएको बताएका छन् । गीत चोरीको नाममा सामाजिक संजालमा कानुन र सामाजिक सद्भावको अन्त्य हुने गरि दलित समुदायमाथि प्रहार भइरहेको उनले बताए ।

रेशम चौधरीको प्रसंग उठाउदै नेता विश्वकर्माले सरकारनै जातिय द्वन्द बढाउन उद्वत रहेको आरोप लगाए । प्रकाश सपुत विरुद्ध निच गाली गरिएको भन्दै उनिहरुमाथि साइबर क्राइम र जातिय भेदभावविरुद्धको सजाय हुनुपर्ने उनको माग छ ।

यद्यपी, जातीय छुवाछुत कसुर र सजाँय ऐन २०६८ मा ‘प्रत्येक व्यक्तिको अधिकार र मानवीय मर्यादामा समान हुने सिद्धान्तलाई आत्मसात् गर्दै प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज वा अन्य कुनै नाममा जात, जाति, वंश, समुदाय वा पेशाका आधारमा छुवाछूत तथा भेदभाव नहुने अवस्था सिर्जना गर्ने’ भनिएको छ ।


प्रत्येक व्यक्तिको समानता, स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण गर्न तथा कुनै पनि स्थानमा गरिने छुवाछूत, बहिष्कार, प्रतिबन्ध, निष्काशन, अपहेलना वा त्यस्तै अन्य मानवता विरोधी भेदभावजन्य कार्यलाई दण्डनीय बनाई त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई क्षतिपूर्तिको व्यवस्था गरी सर्वसाधारणबीच सुसम्बन्ध सुदृढ गरी राष्ट्रिय एकता अक्षुण्ण राखी समतामूलक समाजको सिर्जना गरिने ऐनमा उल्लेख छ ।
दलित समुदायको हक हित र अधिकारका लागि बेला बेलामा कनुन बन्दै आएता पनि कार्यान्वयनको पक्ष भने फितलो छ । यसरी खुल्लम खुल्ला दलित जातीमाथि नै अपमान गर्ने खालका बिषय सम्प्रेषण हुनुले ठाडो रुपमा कानुनलाई नै चुनौति दिएको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक एसएसपी सहकुल थापाले पीडितले आफुमाथि अन्याय भएको महसुश गरि जातीय अपमान भएको भन्दै साइबर क्राइम बिरुद्ध जाहेरी दिएको खण्डमा पीडकलाई एक लाख जरिवाना तथा ५ वर्षसम्मको कैद हुने बताउँछन् । यस्ता खाले बिचारले जातीय द्वन्द फैलिने र समाजमा अस्थिरता ल्याउने भन्दै त्यस्ता अपराधका बिरुद्धमा आफुहरु निरन्तर लागेको उनको भनाई छ ।

Facebook Comments

Trending News