विप्लवको नेपाल बन्दः विदुर नगरपालिकाको मेयरको घरमा कुकर बम, रामेछापमा सिलिण्डर विस्फोट

दियो पोस्ट  

काठमाडौँ, असार १० । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको बन्द सफल बनाउनका लागि विभिन्न स्थानहरुमा गतिविधि बढाएको छ । मंगलबारको नेपाल बन्द सफल बनाउन भन्दै विभिन्न ठाउँमा बम तथा विस्फोटक बस्तुहरु राखेर त्रास फैलाएको छ ।

नुवाकोट जिल्लाको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको घरमा प्रेसर कुकर बम भेटिएको छ । विदुर नगरपालिका–९ मा भएको सञ्जुको घरमा विप्लवका कार्यकर्ताहरुले रातको २ बजे कुकर बम राखेका हुन् । बम भएको सुचना पाएपछि नेपाली सेनाको बम डिस्पोजल टोली पुगेर बम डिस्पोज गरिसकेको छ ।

त्यस्तै रामेछापको सदरमुकाम मन्थली नजिकै ग्यास सिलिण्डर पड्किएको छ । विप्लव नेतृत्वका कार्यकर्ताहरुले रातको समयमा सो सिलिण्डर पड्काएका थिए । बस्तीभन्दा पर पाखामा पड्काएको कारण मानवीय क्षती नभएको तर सर्वसाधरण जनतामा त्रास फैलिएको छ ।

सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेललाई प्रहरीले गोली चलाएर मारेपछि विप्लव समुहले विरोधस्वरुप नेपाल बन्दको घोषणा गरेको हो । यसअघिको नेपाल बन्द केही हिंसात्मक भएको थियो । यसअघिको नेपाल बन्दमा विप्लवका ४ कार्यकर्ता मारिएका थिए । उनिहरु आफैले बोकेको विस्फोटक बस्तु पड्केर मृत्यु भएका हुन् ।