राजधानीमा विप्लव समुहको नेपाल बन्द प्रभाव, १० फोटोमा हेर्नुहोस !

दियोपोस्ट संवाददाता

काठमाडौँ, असार १० । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समुहले मंगलबार नेपाल बन्दको आह्वान गरेको छ । सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेललाई सरकारले नियोजित रुपमा हत्या गरेको भन्दै विप्लव समुहले बन्द आह्वान गरेका हुन् ।

विप्लव समुहले आह्वान गरेको बन्दले राजधानीको जीवनस्तर नराम्ररी प्रभावित भएको छ । सार्वजनिक सवारी साधनहरु निकै कम मात्रामा चलेको र केही रुटमा चल्दै नचलेको कारण यात्रुहरु मारमा परेका छन् । बालकुमारी देखि चाबाहीलसम्म चल्ने नेपाल यातायात मंगलबार पुर्ण रुपमा ठप्प थियो ।

काठमाडौँको बालुवाटार स्थित बस स्ट्याण्डमा केही मानिसहरु नेपाल यातायात कुरेर बसेका थिए । आधा घण्टा जति कुरेर बस्दा पनि नेपाल यातायात नआएपछि केही पर हातहतियार सहित बसेको सुरक्षाकर्मीसंग सोधपुछ गरे । सुरक्षाकर्मीहरुले विहान देखि नै नेपाल यातायात नचलेको र चल्ने सम्भावना निकै कम रहेको बताए । उनले साँझ देखि चल्न सक्ने बताएपछि ती यात्रुहरु हिडेरै गए ।

महानगरिय ट्राफिक महाशाखाका अनुसार अन्य दिनभन्दा केही कम संख्यामा सवारी साधन चलेको बताएको छ । बन्दको प्रभाव धेरै नपरेको, केही सार्वजनिक यातायात कम्पनीहरुले त्रासका कारण सवारी साधन नचलाएकोले सवारी साधन केही पातलो संख्यामा चलेको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी रवि कुमार पौडेलले बताए ।

प्रवक्ता पौडेलका अुनसार राजधानी बाहिर चल्ने लामो दुरीका सवारी साधनहरु भने चलेका छैनन् । गत जेठ १२ गते विप्लवले नै आह्वान गरेको बन्दको समयमा मुलुकको विभिन्न ठाउँहरुमा बम विस्फोट भएको थियो भने ठुलो मात्रामा शंकास्पद बस्तुहरु भेटिएको थियो । सोही त्रासका कारण उपत्यका बाहिरका सवारी साधनहरु मंगलबार नचलेका हुन् ।

बन्दको पुर्वसन्ध्यामा विप्लव समुहले विभिन्न स्थानहरुमा राखेको विस्फोटक पदार्थ भेटिएको छन् । विप्लवको बन्दलाई निरुत्साहीत गर्नका लागि सुरक्षा व्यवस्था चुस्तद्रुस्त बनाइएको नेपाल प्रहरीले जनाएको छ ।