कञ्चनपुरको पुनर्वासमा काँग्रेस र नेकपाको कार्यकर्ताबिच झडप, काँग्रेस सभापती घाइते

दियोपोस्ट संवाददाता

काठमाडौँ, असार १० । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोके बजारमा सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काँगे्रसका कार्यकर्ताबिच झडप भएको छ । कञ्चनपुर आउन लागेकी खानेपानी मन्त्री बिना मगरलाई कालो झण्डा देखाउन पुगेका काँग्रेसका स्थानिय नेता र कार्यकर्ताहरुबिच झडप भएको हो ।

झडपमा दुबै पक्षका नेता कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा काँग्रेस क्षेत्र नम्बर एकका पूर्वसभापति हरेन्द्र विष्ट, वर्तमान सभापती गोपी प्रसाद उपाध्याय सहित ४ जना रहेका छन् । यस्तै नेकपाका कार्यकर्ताृहरु बल बहादुर तामाङ, सुरेश अधिकारी र गुड्डु धामी घाइते भएका छन् । दुबै तर्फका घाइतेहरुलाई सेती अञ्चल अस्पतालमा उपचारको लागि लगिएको छ ।

कञ्चनपुरको पुनर्वासमा भारतीय हस्तक्षेपदेखि हावाहुरी पीडितका लागि केही नगरेको आरोप लगाउँदै विरोध स्वरुप कालो झण्डा देखाउन लाग्दै गर्दा नेकपा कार्यकर्ता खनिएको बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ । प्रहरी प्रवक्ता ज्ञान बहादुर विष्टले घटनालाई लिएर नेकपा र कांग्रेस जिल्ला नेतृत्वले समेत चासो व्यक्त गरेको जनाएका छन् । उनले पार्टीको निर्देशनअनुसार कालो झण्डा देखाएको हो वा, होइन भन्ने विषयमा अध्ययन गरिरहेको जनाएको छ ।