काठमाडौँ, असार १४ । आज राष्ट्रिय वृक्षरोपण दिवस । दिवसका अवसरमा मुलुकभर वृक्षरोपणलाई उत्सवका रुपमा मनाउनुका साथै शनिबार नै ‘वृक्षरोपण वर्ष’को शुरुआतसमेत गरिँदैछ ।
वन तथा भू–संरक्षण मन्त्रालयको पहलमा दिवसका अवसरमा शनिबार काठमाडौँ कोटेश्वर–कलङ्की चक्रपथ खण्डमा एक साथ करीब तीन हजार विभिन्न प्रजातिका बिरुवा रोप्ने मन्त्रालयले जनाएको छ । सरकारले राष्ट्रियस्तरमा ‘वृक्षरोपण वर्र्ष’ कार्यक्रम कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषदले बिहीबार सार्वजनिक गरेको छ ।
सन् २०१८ जुन ५ देखि ‘एक नागरिक एक फलफूलका बिरूवा रोपण अभियान’ शुभारम्भ गरिएको हो । सो अभियान सफल बनाई मुलुकलाई फलफूलमा आत्मनिर्भर एवं निर्यातयोग्य बनाउन प्रत्येक वर्ष असार १४ गते फलफूललगायतका बिरूवा रोपण गरी देशव्यापी रूपमा राष्ट्रिय वृक्षरोपण दिवस मनाउने सरकारको निर्णय छ । साथै लुम्बिनी क्षेत्रलगायतका पवित्र धार्मिकस्थल, सडक किनारा, नदी उकासका क्षेत्र, हैसियत बिग्रिएका वनक्षेत्रमा समेत फलफुल तथा औषधिजन्य (हर्बल) बिरूवा रोपण गर्ने सरकारले निर्णय गरेको छ ।
दिवसका अवसरमा कोटेश्वरमा बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा कार्यक्रम गरी सो क्षेत्रमा गिन्को, असारे फूल, कामिनी, राजवृक्ष, तेजपात, कल्कीफूल, जाकारान्दा, कपुर, पुवाले, करवीरलगायत प्रजातिका ठूला साइजका बिरुवा रोपण गरिने छ । सो अवसरमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख, स्थानीय सरकारका प्रमुखलगायतले समेत वृक्षरोपण गर्ने बताइएको छ ।
वृक्षरोपणका लागि सो सडकखण्डका दुबै किनारामा आवश्यक सङ्ख्यामा खाल्डा खनिसकिएको र नौ समूहमा विभाजन गरी सङ्कलित बिरुवा रोपिने छ । दिवसको पूर्वसन्ध्यामा वनमन्त्री शक्तिबहादुर बस्नेतले रासससँग आफ्नै कार्यकक्षमा कुरा गर्दै दिवसका अवसरमा देशभर वृृक्षरोपण कार्यक्रमलाई महोत्सवका रुपमा मनाउन लागेको बताए ।
“वृक्षरोपण दिवसका साथै भोलि नै सरकारले घोषणा गरेको ‘वृक्षरोपण वर्ष २०७६÷७७’ को औपचारिक शुरुआत पनि हो ।” सरकारले यसअघि नीति तथा कार्यक्रममार्फत आगामी आर्थिक वर्षलाई ‘वृक्षरोपण वर्ष’का रुपमा घोषणा गरेको थियो ।
यति धेरै सङ्ख्यामा बिरुवा कसरी आपूर्ति हुन्छ भन्ने जिज्ञासामा वनमन्त्री बस्नेतले दुई करोड भन्दा बढी बिरुवा सरकारी वनद्वारा व्यवस्थित नर्सरीमा रहेका र तीन करोड जति बिरुवा निजी क्षेत्रका नर्सरीमा रहेका आफ्नो जानकारीमा आएको बताए ।
यस अतिरिक्त कृषि विकास मन्त्रायअन्तर्गत पनि फलफूलका बिरुवा रहेको बताउँदै उहाँले वृक्षरोपणमा काष्ठ, गैरकाष्ठ, सौन्दर्य सम्बन्धी, जडीबुटी, फलफूललगायत सबै प्रजातिका बिरुवा रोपण गर्ने भएकाले यसले वनको विविधिकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
‘एक जवान, एक बिरुवा रोपण अभियान’
सरकारको ‘एक नेपाली, एक फलफूलको बिरुवा रोपण अभियान’ लाई मूर्तरुप प्रदान गर्न नेपाली सेनाले पनि ‘एक जवान, एक बिरुवा (फलफूलका बोट) रोपण अभियान’ को कार्यक्रम लागु गरेको छ । सोही अभियान बमोजिम आज प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डा हाताभित्र विभिन्न जातका फलफूलका बिरुवा रोपी अभियानको शुभारम्भ गरे ।
स्थानीय प्रतिनिधि तथा जनसमुदायको समन्वय, सहकार्य एवं सहभागिता जुटाई मुलुकभर ब्यारेक हाताभित्र र बाहिर गरी एक लाख ५० हजार ९७७ विभिन्न जातका स्थानीय हावापानी सुहाउँदो फलफूल तथा अन्य बिरुवा रोपण, संरक्षण र संवद्र्धन गर्ने नेपाली सेनाको योजना रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सोही योजना अनुरुप प्रधानसेनापति थापाको उपस्थितिमा जङ्गी अड्डा हाताभित्र आज २५० विभिन्न जातका फलफूलका बिरुवा रोपण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जङ्गी अड्डामा कार्यरत सेनाका रथीवृन्द तथा अधिकृतको उपस्थिति रहेको निर्देशनालयले जनाएको छ ।