भात खुवाईको भोज खाएका ४१ बिरामी

दियो पोस्ट  

दमैली, असार १५ । तनहुँको भानु नगरपालिका–तीन खहरे निवासी धनराज श्रेष्ठको छोराको भात खुवाइमा भोज खाएका ४१ गाउँले बिरामी परेका छन् ।

श्रेष्ठको छोराको भात खुवाइको अवसरमा बिहीबार आयोजित भोजमा सहभागी भएका गाउँले शनिबार एकैपटक बिरामी परेका हुन् ।

स्थानीयवासीले भोजमा माछा, कुखुराको मासु, केराउको तरकारी, सलादलगायत खाएका थिए । माछा खाएका गाउँले बिरामी परेको भानु नगरपालिका–३ का वडाध्यक्ष दलनारायण श्रेष्ठले जानकारी दिए ।

बिरामी परेका स्थानीयवासीलाई झाडापखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने लक्षण देखापरेको छ । बिरामीमध्ये तीनलाई थप उपचारका लागि काठमाडां पठाइएको छ भने अन्य बिरामीको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

माछा खाएका स्थानीयवासी मात्रै बिरामी परेकाले माछाको असर देखिएको हुनसक्ने इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक नीरज डाँगीले जानकारी दिए ।

खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख शिवजी बरालले डुम्रे बजारको एक पसलबाट माछा खरीद गरी लगिएको र माछाको विषादीका कारण स्थानीयवासी बिरामी परेको हुनसक्ने बताए ।