काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा मुलुकबाट गरिवी र बेरोजगारी अन्त्य हुने बताएका छन् । आइतबारबाट काठमााडैंमा सुरु भएको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सुन्दर, सुरक्षित र समृद्ध नेपाल बनाउन सबै मिलेर लाग्नु पर्ने स्पष्ट पारे ।
प्रतिपक्षलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा विद्यमान गरिवी र बेरोजगारी अन्त्यका लागि सबै मिलेर काम गर्न गर्नु पर्ने बताए । गरिवी र बेरोजगारीको सामना प्रतिपक्ष/सत्तापक्ष दुवैले गरिरहनु परेको उल्लेख गर्दै उनले त्यसको अन्त्यका लागि मिलेर काम गर्न प्रमुख प्रतिपक्ष काँग्रेस पनि तयार हुनुपर्ने स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले आफूले गरेका राम्रा कामको चर्चा नगरिदिए हुने पनि बताए । तर देशका लागि, भोलिका सन्ततिका लागि भने सबैले आ–आफ्नो ठाउँबाट सकेको योगदान दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रधानमन्त्री ओलीले शिक्षालाई जीवन उपयोगी बनाएर मुलुकमा गरिवी अन्त्य गर्ने र रोजगारीको अवसृर सृजना गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।
त्यसका लागि सरकारले आवश्यक जनशक्ति निर्माण हुने गरी शिक्षण संस्थाहरुको स्थापना गर्ने पनि प्रधानमन्त्री ओलीको योजना छ । उनले मुलुकमा रोजगारीको अवसर सृजना गर्न कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासमा विशेष जोड दिइएको पनि स्पष्ट पारे ।
कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मुलुक भित्रै रोजगारीको अवसर अधिकतम सृजना गर्न र बैदेशिक रोजगारलाई व्यवस्थित बनाउन आवश्यक सुझाव संकलन गर्ने उद्देश्यका साथ सो सम्मेलन आयोजना गरिएको स्पष्ट पारे ।
२ दिनसम्म चल्ने सम्मेलनमा विज्ञहरुले रोजगारीको अवसर सृजना हुने खालका विभिन्न क्षेत्रका पहिचानसहितको कार्यपत्र प्रस्तुत गर्ने पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।