रोपाईँ गर्न गोरखा पुगेका बाबुरामले कोदाली समाउन जानेनन् !

दियो पोस्ट  

काठमाडौँ, असार १५ । गोरखामा पालुङटार नगरपालिका १ र सफल मल्टिपर्पोज कृषि फार्मले आयोजना गरेको रोपाई महोत्सव मनाउन पुगेका डा. बाबुराम भट्टराईले खुब खुलेर रोपाई गरे ।

आफ्नै गृह जिल्ला भएको कारण पनि डा. भट्टराइ आइतबारको रोपाई महोत्सवमा भाग लिन पुगेका थिए । रोपाई महोत्सवमा खुलेर धान रोपे, हलो जोते, गोरु चलाए र बाउसे गरे । त्यहाँ उपस्थित भएका किसानहरु पनि बाबुराम भट्टराईको किसानी क्षमता देखेर निकै उत्साहित भएका थिए ।

निकै जोश जाँगरले हलो चलाइरहेका भट्टराईलाई कोदाली भने चलाउन नआएको देखिन्छ । कोदाली चलाउँदा सामान्यतया एउटा हात कोदालीको टाउको भन्दा माथिको विँड र एउटा मुनितिरको भागमा समाउने गरिन्छ । तर, डा. भट्टराईले दुबै हातले कोदालीको टाउको मुनितिरको भागमा समातेर खनेका छन् ।

सामाजिक संजालमा बाबुराम भट्टराईले पोस्ट गरेको सोही तस्विरमाथि निकै धेरै मानिसहरुले प्रतिक्रिया दिएका छन् । सबै प्रयोगकर्ताहरुले उनलाई कोदालीसम्म चलाउन नआएको भन्दै उनमा किसानी ढंग नभएको प्रतिक्रिया दिएका छन् ।