भेरीमा लोकतन्त्रको हत्या नहोस् !

दियो पोस्ट  

रुद्रप्रसाद भट्ट


गत जेठ १० गते राती रुकुम पश्चिममा भएको मानवता विरोधी घटनामा पाँच युवाले ज्यान गुमाए । मल्ल थरकी प्रेमिका भगाउन गएका भनिएका नवराज विक समेत ५ युवाको शव भेरी नदीमा फेला परेको थियो । सँगै गएका अर्का एकजना अझै वेपत्ता छन् । प्रेमिकाले नै भेट्न बोलाएपछि गएका भनिएका नवराज र उनको साथमा गएका युवालाई केटी पक्षले नियोजित रुपमा लखेटेर कुटी¬–कुटी हत्या गरी भेरी नदीमा बगाएको आरोप छ । घट्नामा स्थानिय जनप्रतिनिधी समेत गाउँलेको संलग्नता भएको भन्दै नवराजको परिवारले जाहेरी दिएको छ ।


प्रेमको बिषय जोडिएको घट्नामा यति ठूलो हताहती संभवत यो पहिलो हो । प्रेमीले प्रेमिकाको , प्रेमिकाले प्रेमीको हत्या वा प्रेम सफल नभएर हुने आत्महत्या सम्म सुनिन्थ्यो । तर,प्रेमकै विषयमा गाउँले समेत जोडिएर भएको यो दुःखद घट्नाले मानवीय संवेदना हराउँदै गएको अनुभूत गराएको छ ।

एउटा कथन छ— प्रेमले जात, क्षेत्र र भूगोल छुट्याउँदैन । ठीक त्यस्तै जाजरकोटका नवराज र रुकुमकी सुष्माको प्रेमलाई भेरी नदीले बार लगाउन सकेन । तर, समाज र जातीय व्यवस्थाले भने उनीहरुको प्रेमलाई फूल्न दिएन । फलस्वरुप ५ जनाको शव भेटियो एक युवा अझै बेपत्ता छन् ।


दलित युवा र मल्ल थरकी युवतीको प्रेमका कारण नै यो घट्ना भएको भनेर प्रचार गरिएपनि घट्नामा गैह्र दलित युवा पनि मारिएका छन् । पूर्व गृहमन्त्री शक्ति बस्नेतको जिल्ला जाजरकोट अनी पूर्व गृहमन्त्री जनार्दन शर्माको जिल्ला रुकुमको यो घट्नाले वर्तमान गृहमन्त्री रामबहादुर थापा बादललाई समेत तनाव दिएको छ । दुबै पूर्व गृहमन्त्री माओवादी जनयुद्धका कमाण्डर अनि नेकपा अध्यक्ष प्रचण्डका अति विश्वासपात्र मानिन्छन् ।

यता वर्तमान गृहमन्त्री रामबहादुर थापा पनि जनयुद्धका उच्च नेता र हाल नेकपाका भित्रका शक्तिशाली सचिवालय सदस्य हुन् ।


घट्नापछि देशभरका प्राय सबै जिल्लामा संघर्ष समिति बनाएर सिङ्गो दलित समुदाय आन्दोलनमा छ । नेकपाका शक्तिशाली नेताका जिल्लामा भएको घट्ना, नेकपाकै गृहमन्त्री, नेकपाकै सरकार अनि घट्नामा जोडिएका भनिएका व्यक्ति पनि नेकपाकै स्थानिय नेता र जनप्रतिनिधी समेत रहेकाले यो घट्नाको निश्पक्ष छानविनमा शंका गर्नेको जमात पनि ठुलै छ । झट्ट हेर्दा प्रेमको विषय जोडिएर भएको घट्ना भनिएपनि आन्दोलनरत दलित समुदाय यो सुनियोजित घट्ना भएको र यसमा संलग्न दोषिलाई हदैसम्म कार्बाही हुनुपर्छ भनिरहेको छ ।


प्रेम प्रसङ्ग वा जातिय कुरालाई छाड्ने हो भने पनि यो मानवताविरोधी बर्बरतापूर्ण घट्नामा संलग्न जोसुकै भएपनि कानुनी कठघरामा उभ्याउनैपर्छ । तर,अहिलेसम्मको अवस्था हेर्दा दोषी उम्कीन सक्ने वा दोषीलाई बचाउने खेल शुरु भएको आशंका गर्न सकिन्छ । खासगरी यसमा सरकारले नै आफ्नो जनविश्वास कायम राख्ने हो भने अहिलेसम्म अपराधीलाई जनसमक्ष सार्वजनिक गरिसक्नुपर्ने हो । तर, त्यसो हुन सकेको छैन र शंका यहिँनेर छ । घट्नालाई संसदमा र आन्दोलन गर्ने समुदायमा एउटै ढंगले बुझिएको र बुझाइएको पनि छैन ।

संसदमा बोल्नेले पनि पार्टी रिसाई पो हाल्छ की भन्दै बोलेका आवाज आइरहेको छ र आन्दोलनरत समुदाय पनि पार्टी आदेशमा अगाडी बढ्ने वा ब्याक हुने द्वीविधामा देखिन्छन् । यो आजको घटनामा मात्रै होइन यस अगाडी घटेका कयौं घट्नाले यसको संकेत गर्दछ । जसका कारण अहिलेसम्म परिवर्तनका लागि गरिएका कुनैपनि आन्दोलनबाट जुनसुकै समुदायले आफ्नो अधिकार सुनिश्चित गर्न नसकेको हो । चाहे मधेस आन्दोलन,चाहे दलित आन्दोलन, चाहे जनजाती आन्दोलन, चाहे थारु, मुस्लिम, सुकुम्वासी, चाहे महिला वा राज्यबाट पछाडी पारिएकाहरुको आन्दोलन सबै बीचमै संझौतामा टुङ्गिएको छ ।


यसर्थ, लोकतन्त्रमा यस्ता जघन्य अपराध कर्ममा संलग्न जुन आस्थाका जोसुकै ठूला वा साना नेता हुन् या कार्यकर्ता तीनलाई सजाय हुनैपर्छ । जातीय भेदभाव रहित समाज अनी हरेक समुदायलाई राज्यका सबै ठाउँमा अवसर दिलाउनु लोकतन्त्र हो । यदि यसो भएन भने लोकतन्त्र कमजोर हुन्छ अर्थात अधिकार नपाएपछि अरुका लागि मात्र लोकतन्त्र भनेर कोहि बस्दैन, लोकतन्त्र प्रतिको उसको आस्था र विश्वास पनि घट्न थाल्छ । फलस्वरुपःउसले बिद्रोह गर्छ ।


मानव समुदायका प्रत्येक सदस्यहरुमा अन्तरनिहीत जन्मसिद्ध अधिकारलाई मानव अधिकार भनिन्छ । अर्थात जन्मदा नै प्राप्त गरेको अधिकार । जाती, भाषा, धर्म, लिङ्ग, राष्ट्रियता,उत्पत्ति, सामाजिक र आर्थिक स्थिती,राष्ट्रिय सिमाना लगायतमा बिना भेदभाव प्रत्येक ब्यक्तिले पाउने अधिकार हो ।
मानव समाजमा शान्तसँग बाच्न पाउनु वा आफ्ना सबै अधिकार निर्वाध उपभोग गर्न पाउनु नै शान्ति हो । अर्थात, लोकतन्त्र र मानवअधिकारको पुरापुर उपभोग गर्दै शान्तसँग बाँच्न पाउने कुराको ग्यारेण्टी राज्यले गनुपर्ने हो । आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकार हनन् भयो की भएन भनेर सोंच्न सकियो भने अर्थात मैले आफ्ना सबै अधिकार उपभोग गरिरहँदा अर्काे व्यक्ति माथि अन्याय भैरहेको छ भने त्यो बास्तविक लोकतन्त्र होइन । रुकुम घट्नाले लोकतन्त्रको मजाक उडाएको छ । जाती, जनजातीलाई अधिकार भन्दा राजनीतिक स्वार्थमा प्रयोग गर्ने, भोट बैंकको रुपमा हेर्ने, आफ्नो दल वा विपक्षी दल भनेर न्यायमा भेदभाव गर्ने अनी अपराध गर्नेलाई जसरी पनि बचाउने कार्यले सरकार र राजनितिक दलप्रति जनताको विश्वास कम हुँदै गएको छ । यसर्थः क्रुर र मानवता विरोधी रुकुम घटनामा दोषिले छिटो भन्दा छिटो सजाय पाउनैपर्छ ।

अलिकति पनि ढिला वा आफ्ना नेता,कार्यकर्ता भनेर बचाउन खोजियो भने समाजमा पुनः विद्रोहको अवस्था आउन सक्छ । त्यसैले भेरीमा नवराज र उनका साथीको त हत्या भयो तर घट्नामा संलग्न उम्किए भने यसले लोकतन्त्रको नै हत्या भयो भन्न सकिन्छ । माओवादीले भन्ने गरेको क्रान्तिको उद्गम थलो र शक्तिशाली नेताकै जिल्लामा मानता विरोधी हर्कत हुनु दुःखद र लोकतन्त्रको नै हत्या प्रयास हो । तसर्थ,सरकारले छिटोभन्दा छिटो सत्यतथ्य बाहिर ल्याउन र दोषिलाई भगाउने होइन कानुनी कठघरामा उभ्याउन ढिलो गर्नुहुन्न ।


[email protected]