युवराज खत्री
काठमाडौं । शैक्षिक परामर्शदायक कम्पनिहरुले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरुलाई परामर्श सेवा दिने काम गर्नुपर्छ । सोही कामका लागि उनीहरुले शिक्षा मन्त्रालयबाट अनुमति समेत पाएका हुन्छन् । तर, पछिल्लो समय शैक्षिक परामर्शदायक कम्पनि ‘कन्सल्टेन्सी’ले भिजिट भिषामा ‘मानव तस्करी’ गरिरहेको पाइएको छ ।
अष्ट्रेलियाको सिड्नीस्थित पिट स्ट्रिट र नेपालका विभिन्न स्थानमा कार्यालय रहेको देखाएर शैक्षिक परामर्श सेवाका लागि अनुमति लिएको बाबा एजुकेशन कन्सल्टेन्सीले भिजिट भिषामा अष्ट्रेलिया पठाउने गरेको पाइएको हो ।
काठमाडौंमा न्युरोड कम्प्लेक्समा कार्यालय रहेको यो कम्पनिले खुलखुल्ला भिजिट भिषामा मानव तस्करी गरिरहँदा समेत सरोकारवाला निकाय मौन छन् ।
दियोपोस्टलाई प्राप्त जानकारी अनुसार यो कम्पनिले सिता कुमारी अधिकारी सापकोटालाई गत जुन २९ मा भिजिटर भिषामा अष्ट्रेलियाको भिषा ग्यारेन्टी भएको उल्लेख छ । जबकी भिजिट भिषाको कारोबार गर्ने अनुमति यो कम्पनिलाई छैन । जुन २९ मै यो कम्पनिले सार्वजनिक गरेको अर्को सुचना अनुसार सुशिला कुमारी श्रेष्ठले पनि भिजिटर भिषा प्राप्त गरेकी छिन् । उनलाई पनि यही कम्पनिले भिजिटर भिषा उपलब्ध गराएको हो ।
जुन २४ मा नेत्र कुमारी श्रेष्ठलाई पनि भिजिट भिषा दिलाइएको छ । त्यस्तै सोही दिन भोजनारायण श्रेष्ठ, शमशेर लाल राजबंशी, गीत सागर छन्त्याल, हिरा कुमारी छन्त्याल, पदम बहादुर छन्त्याल र मिरा शर्मालाई पनि जुन २४ मा नै भिजिटर भिषा उपलब्ध भएको कम्पनिले जनाएको छ ।
कार्यक्रमको आवरणमा मानव तस्करी
अष्ट्रेलियाको सिड्नीमा एक टेलिभिजन, आरकेएस अष्ट्रेलिया र बाबा एजुकेशन कन्सल्टेन्सीले हिजो शुक्रबार १५ जुलाईमा एक कार्यक्रम गरेका थिए ।
भारतीय कलाकार गोविन्दालाई प्रमुख ‘पात्र’ देखाएर आयोजना गरिएको कार्यक्रमको नाम हो ‘डान्स वीथ बलियुड स्टार गोविन्दा’ । पत्नी सुनिता आउजासहित अष्ट्रेलिया पुगेका गोविन्दाले आफ्नो शो देखाएका थिए । सोही कार्यक्रमको नाममा बाबाले मानव तस्करी गरेको स्रोतले जनाएको छ । माथि उल्लेखित ९ जना नै सोही कार्यक्रममा प्रति व्यक्ति २५ लाख रुपैयाँ तिरेर अष्ट्रेलिया पुगेको स्रोतको दाबी छ ।
कन्सल्टेन्सीले भिजिट भिषाको काम गर्नु गैरकानुनी
बागमती प्रदेशले जारी गरेको शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका , २०७५ को परिच्छेद एक (च) मा शैक्षिक परामर्श सेवा भन्नाले स्वदेश तथा विदेशमा अध्यन गर्न चाहाने विधार्थीलाई विषय, तह र शिक्षण संस्था छनोट गर्ने, शिक्षण संस्थामा प्रवेशको लागि तयारी गर्ने वा परामर्श प्रदान गर्ने सेवा सम्झनु पर्छ’ भन्ने उल्लेख छ ।
तर, शैक्षिक परामर्शदाताको रुपमा अनुमति लिएको बाबा एजुकेशनले कार्यक्रममा सहभागी गराउँछु भन्दै मानव तस्करी गरिरहेको छ । यसरी निर्देशिका उलंघन गरे नेपाल सरकारले समेत कारबाही गर्न सक्छ । तर, अष्ट्रेलिया सरकारले यो बद्मासी फेला परे भारतको नयाँ दिल्लीस्थित हाइकमिशनलाई भनेर कालोसुचीमा राखिदिन सक्छ ।
शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्दैशिका, २०७५ को दफा ६ (ग) मा संस्थानले बदनियतपूर्ण तवरबाट सेवा प्रदान गरेको प्रमाणित भएमा शैक्षिक परामर्श सेवादाताको अनुमती रद्व हुने उल्लेख छ । त्यसैगरी यस निर्देशिकाको दफा ७ को (ग) मा संस्थाले आफुलाई प्रदान गरिएको अधिकारको क्षेत्रभित्र रही कार्य गर्नुपर्ने भनिएको छ । यो व्यवस्था अनुसार बाबा एजुकेशनलाई नेपालमै कारबाही हुने खतरा समेत छ ।
प्रतिव्यक्ति २ सय ५० अष्ट्रेलियन डलरसम्म असुली
मानव तस्करीको माध्यम बनेको यो कार्यक्रममा सहभागीहरुले २ सय ५० डलरसम्म तिरेको पाइएको छ । सर्वसाधरण सिटका लागि एक सय र भिआइपी सिट बुक गर्न २ सय ५० डलरसम्म असुली गरिएको पाइएको छ ।
यी हुन् मानवतस्करीमा समलग्न
अष्ट्रेलियामा रहेको आरकेएस अष्ट्रेलिया र बाबा एजुकेशनका मालिक हुन् राजेन्द्र कुमार शर्मा र रविन्द्र कुमार शर्मा । उनै शर्मा दाजुभाईले नेपालबाट खुलमखुल्ला मानव तस्करीको धन्दा चलाएका हुन् । भिजिट भिषामा विदेश लगेर लुकाउनु नै मानव तस्करी हो । मानव तस्करीमा समलग्न रविन्द्र अष्ट्रेलियास्थित नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानका पूर्व अध्यक्ष हुन् । उनीहरुले यसअघि समेत विभिन्न कार्यक्रमको नाममा मानवतस्करी गर्दै आएको निकटस्थहरु बताउँछन् ।