पर्यटक उपचारमा नेपाली अस्पतालको लुट : २५ रुपैयाँ पर्ने परिक्षण शुल्क ४३ सय रुपैयाँसम्म असुली !

दियो पोस्ट  

काठमाडौं । नेपाल आउने पदयात्री पर्यटक उद्दारको नाममा बिमा ठगी हुने गरेको घटनाले मुलुक नै अन्तर्राष्ट्रिय क्षेत्रमा बद्नाम छ । मुलुकलाई अन्तर्राष्ट्रिय क्षेत्रमा बद्नामीको शिखरमा पुर्याउने कार्यमा नेपालमा संचालित केही ट्रेकिङ्ग कम्पनि, हेलिकोप्टर कम्पनि, रेस्क्यु कम्पनि र अस्पतालहरुको प्रत्यक्ष संलग्नता छ । ती मध्ये नेपालका अस्पतालहरुले विदेशी पर्यटक उपचारको नाममा लुट मच्चाइरहँदा समेत सरकार मौन छ ।
विदेशस्थित विमा कम्पनिका एजेन्टहरुले आफूखुसी अनुसन्धान गरेपनि कुनै ठोस कारबाही हुन सकेको छैन । लुटधन्दाबारे सरकार जानकार रहेपनि थाहा नै नपाएजसो गरि नाटक गरेर बसिरहेको छ ।

दियोपोस्टलाई प्राप्त कागजात अनुसार काठमाडौंमा संचालित पर्यटक उपचार गर्ने केही अस्पतालहरुको लुटधन्दा ओपन सेक्रेट जस्तै छ । बिमा ठगीमा प्रत्यक्ष संलग्न रहेका अस्पताल संचालकहरु विभिन्न शक्ति केन्द्रसँग नजिक रहेर ठगीधन्दामा लागि रहेका छन् ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सिबिसी (कम्प्लिट ब्लड काउन्ट) परिक्षण गरेबापत जम्मा नेपाली रुपैयाँ २५ शुल्क लाग्दछ । तर, ठमेलस्थित ईरा हेल्थ केयर सेन्टर नामक क्लिनिकले विदेशी नागरिकको सिबिसी परिक्षण गरेबापत ४३ सय रुपैयाँ शुल्क उठाउँदै आएको छ । यो भनेको एक सय ७२ गुणा महँगो हो । यतिका रकम लिन पाउने कनै स्पष्ट कानुनी व्यवस्था छैन । ‘यो त ठूलो ठगी र अपराध हो । यदि राज्य गम्भिर हुने हो भने यस्ता क्रियाकलापमा संलग्न हुनेमाथि कारबाही गर्नुपर्छ,’ एक अधिवक्ता भन्छन्,‘विदेशी बिमा कम्पनिबाट असुल्न पाइन्छ भन्दैमा यो हदसम्मको अपराध गर्नेमाथि प्रहरीले पक्राउ गरेर कारबाही थाल्नुपर्छ ।’

त्यतिमात्रै होइन । यो क्लिनिकले डाक्टरको एउटा भिजिटको शुल्क १२ हजार रुपैयाँ उठाउँदै आएको छ । विरामी एक रात राखेबापत ३७ हजार रुपैयाँ अशुल्दै आएको छ । जबकी नेपालका महँगा र पाँचतारे होटलको स्विट रुम समेत यति महँगो पर्दैन । आपतकालिन विरामी भर्नाको शुल्क ९ हजार रुपैयाँ सम्म असुलिँदो रहेछ । त्यस्तै आपतकालिन भर्ना भएको विरामीलाई हस्पिटल एडमिशन प्रोसेस भनेर फेरी ८ हजार ५ सय असुलिन्छ । एमरजेन्सी डाक्टर कन्सल्टेशन चार्ज भनेर १० हजार रुपैयाँसम्म असुलिन्छ । ईरा हेल्थ केयरले पेश गरेको अधिकांश टेस्टको मुल्य सयौँ गुणा महँगो छ । एकरात यो अस्पतालमा बसेका ती विदेशी नागरिकको विमा कम्पनिबाट एक लाख २१ हजार रुपैयाँ भन्दा बढी असुली गरेको छ । तर, सरोकारवाला निकाय भने कानमा तेल हालेर सुनसान छ ।

त्यस्तै लाजिम्पाटस्थित श्रीद्धि अन्तर्राष्ट्रिय अस्पतालले पनि लुटधन्दा मच्चाइरहेको छ । अस्पतालका मालिक डा. गिर्वानराज तिमिल्सिनाले नक्कली बिल बनाउनेदेखि फर्जी उडानको बिल समेत बनाएर धन्दा गरिरहेको विषयमा दियोपोस्टले यसअघि नै खबर लेखेको हो । तर, सरोकारवाला निकायले कुनै कारबाही गरेका छैनन् । यो अस्पतालले पनि डाक्टरको एक पटक भिजिटको १० हजार रुपैयाँ भन्दा बढी अशुली गर्ने गरेको छ । यो अस्पतालले गत वर्ष हेलिकोप्टर उडान नै नभएका एक गैरआवाशिय नेपालीको नक्कली हेलिकोप्टर बिल बनाएर भुक्तानी गरेको थियो । फर्जीबिल बारे यो अस्पताल अहिलेसम्म मौन छ ।

त्यस्तैगरि काठमाडौंको कालोपुलस्थित स्वाकन अन्तर्राष्ट्रिय अस्पतालमा पनि पर्यटक उपचारको नाममा लुट धन्दा मच्चिने गरेको छ । यो अस्पतालले पनि लुट मच्चाइरहेको विषयमा एमाले सांसद सुनिता बरालले प्रतिनिधि सभा बैठकमै कुरा उठाएकी थिइन् । त्यसो त उनले ईरा इन्टरनेश्नल अस्पतालले पनि लुट मच्चाएको आरोप लगाएकी थिइन् । संसदमै उठेको यो प्रश्नप्रति संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री सुदन किराँतीले हालसम्म कुनै जवाफ दिएका छैनन् ।

 

पर्यटक उपचार शुल्कमा छैन मापदण्ड

हरेक मुलुकले आफ्नो मुलुक घुम्न आउने पर्यटक उपचारमा कति शुल्क लिने भन्ने मापदण्ड बनाएका हुन्छन् । मलेशिया घुम्न जाने पर्यटकले मलेशियन नागरिक सरहको शुल्क तिरेर उपचार गर्न पाउँछन् । थाइल्याण्डमा थाइ नागरिकले भन्दा दोब्बर शुल्क तिरेर त्यहाँ घुम्न जाने नगारिकले उपचार सेवा पाउँछन् । त्यस्तै सिंगापुरमा त्यहाँको नागरिक भन्दा एक सय २५ प्रतिशत बढी शुल्क तिरेर पर्यटकले उपचार सेवा पाउँने गरेका छन् । भारतमा भारतीय नागरिकले तिरेको शुल्क भन्दा पर्यटकले डेढी शुल्क बढी तिर्नुपर्छ । तर, भूटान मात्रै त्यस्तो मुलुक हो जहाँ घुम्न जाने विदेशी नागरिकको उपचारमा राज्यले सबै निशुल्क घोषणा गरेको छ । एम्बुलेन्सदेखि उपचारसम्म निशुल्क उपलब्ध गराइन्छ । तर, नेपाल सरकारले हालसम्म कुनै निति बनाएको छैन । नितिगत अस्थिरताकै फाइदा उठाएर माफियाहरुले पर्यटक उपचारको नाममा लुट मच्चाइरहेका छन् ।

 

सिफारिस