एलओडी पुगेकी १५ वर्षीया बालिका बलात्कृत, सञ्चालकमाथि पनि हुन सक्छ कारबाही !

गत बैशाखमा पनि दुई महिला बलात्कृत

दियो पोस्ट  

काठमाडौं । ठमेलस्थित चर्चित एलओडी क्लब गएकी १५ वर्षीया एक बालिका बलात्कृत भएकी छन् । उनीमाथि यस्तो घटना भएको तीन सातापछि खुलासा भएको हो ।

गत ३१ जेठमा एलओडी पुगेकी ती नाबालिकालाई त्यहीबाट ललितपुरको बागडोल लगेर पोखराका ५० वर्षीय सुदनबहादुर कोइरालाले बलात्कार गरेको खुलेको छ । सोही अभियोगमा कोइरालालाई ललितपुर प्रहरीले पक्राउ गरिसकेकाे छ ।  बागडोलमा कोइरालाको अफिस थियो । सोही कार्यालयमा लगेर उनले बालिकालाई बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरिएको हो । बालिका उदयपुर स्थायी घर भई कोटेश्वर बस्दै आएकी  थिइन् ।

बालिका एलओडी क्लब प्रवेश गरेर घटना भएको विषयमा सञ्चालकमाथि समेत अनुसन्धान हुने प्रहरीले बताएको छ ।

उमेर नै नपुगेकी नाबालिकालाई क्लबभित्र प्रवेश गराएको कसुरमा प्रहरीले सञ्चालकमाथि अनुसन्धान गर्ने प्रहरीकाे भनाइ छ ।

यसअघि १५ वैशाखमा दुई जना महिला पनि बलात्कृत भएका थिए । क्लबको सरसफाइको काम गर्ने दुई महिलालाई बिहान एक होटलमा लगेर बलात्कार गरेको खुलेको थियो ।

खाजा खुवाउने भन्दै एक खाजा पसलमा मदिरा खुवाएर होटलमा पुर्‍याई बलात्कार गरिएको थियो । सो आरोपमा प्रहरीले खोटाङको बाह्र पोखरी गाउँपालिका– २, स्थायी घर भई काठमाडौंको नयाँ बजार बस्ने लोकबहादुर मगर र काठमाडौंको गोकर्णेश्वर नगरपालिका– २ का माइला भन्ने रामकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो ।

उमेरै नपुगेकी नाबालिकालाई क्लबभित्र प्रवेश, के छ कानुनी व्यवस्था ?

बालबालिकासम्बन्धी ऐन, २०७५ को परिच्छेद–८ को दफा ६६ (ख) ले बालिगका लागि खोलिएका डान्सबार, क्यासिनोजस्ता मनोरञ्जन स्थलमा प्रवेश वा प्रयोग गराउने कार्यलाई बालबालिकाविरुद्ध हिंसा गरेको मानेको छ । यदि सो कार्य गरेको ठहर भएमा ५० हजार रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय हुने व्यवस्था छ ।