काठमाडौं । ललितपुरको जावलाखेलमा मुख्य कार्यालय रहेको कल्याण उपकार सेभिङ्ग एण्ड को—अपरेटिभ सेभिङ्ग एण्ड क्रेडिटका उच्च अधिकारीको मिलेमतोमा अर्बौं रकम हिनामिना भएको खुलाशा भएको छ ।
सहकारीका अध्यक्ष लिलाबहादुर गुरुङ्गको नेतृत्वमा अर्बौं रुपैयाँ हिनामिना गरिएको पीडितहरुले बताएका छन् । सहकारीले बचतकर्ताको रकम विभिन्न स्थानमा घरजग्गामा लगानी गरेको दाबी गरेपनि पीडितहरुले भने सहकारीका अध्यक्ष लगायतको समुहले जथाभावी लगानी गरेको आरोप छ ।
पीडितहरुले सहकारीका संचालकहरुले बचत रकम फिर्ता नदिएको भन्दै विभिन्न निकायमा उजुरी समेत दिएका छन् । तर, सरकारी निकायले बेवास्था गर्दा बचतकर्ताहरु पीडित भएका छन् ।
रामेश्वर देउजा, शिवजी थापा लगायत पीडितहरुले सहकारीबाट बचत रकम फिर्ता नदिएको भन्दै बागमती प्रदेशको उद्योग पर्यटन तथा सहकारी मन्त्रालयमा समेत उजुरी गरेका थिए । गत असार ८ गते दर्ता भएको उजुरी अनुसार ती पीडितहरुको २ करोड रुपैयाँ बराबर बचत फिर्ता नभएको उल्लेख छ । सोही उजुरीका आधारमा मन्त्रालयको सहकारी महासाखाले असार ११ गते सहकारीलाई बचतकर्ताको रकम २१ दिन भित्र फिर्ता गर्न अल्टिमेटम दिएको छ । तर, हालसम्म पनि सहकारी संचालकहरु पीडित बचतकर्ताहरुको सम्पर्कमा छैनन् ।
स्रोतका अनुसार सहकारी संचालकहरुले २० करोड भन्दा बढी रकम फिर्ता नगरेको भन्दै मन्त्रालय लगायत विभिन्न निकायमा उजुरी परेको छ । सहकारीबाट पीडित भएका बचतकर्ताहरुले संघीय मन्त्रालय अन्तर्गत सहकारी विभागमा समेत उजुरी परेको छ । तर, विभागले अर्बौं हिनामिना गर्ने सहकारीलाई कारबाही गर्नुको सट्टा प्रदेश तिर देखाएर उन्मुक्ति दिने कोशिस गरेको छ ।
आफूलाई पूर्व ब्रिटिश लाउरे बताउने अध्यक्ष गुरुङ्गले पीडित बचतकर्ताहरुलाई धम्की दिने गरेको समेत पीडित रामेश्वर देउजाले बताए । ‘हामीले आवाज उठाउन थालेपछि विभिन्न व्यक्ति मार्फत धम्की आउन थालेको छ । सहकारीका अध्यक्ष गुरुङ्गको विभिन्न शक्ति केन्द्रसँग पहुँच भएको भन्दै हामीलाई जेपनि हुन सक्ने धम्की दिन थालिएको छ,’ देउजाले दियोपोस्टसँग भने,‘मैले बैंकबाट ऋण लिएर सहकारीमा २ प्रतिशत ब्याजको लोभमा बचत गरेँ । तर, अहिले मलाई औषधी खाने पैसा समेत नभएर तड्पिएको छु । पटक पटक सहकारीका संचालकहरुलाई भन्यौँ । नियामक निकायमा गयौँ तर कसैले हाम्रो दुखेसो सुनेका छैनन् ।
सहकारीका अध्यक्ष गुरुङ्गसहित ७ जना पदाधिकारी विरुद्ध मन्त्रालयमा उजुरी परेको छ ।
बचतकर्ताको रकम घरजग्गामा लगानी
स्रोतका अनुसार सहकारी बचतकर्ताहरुको रकम संचालकहरुले व्यक्तिगत घर जग्गा जोड्न दुरुपयोग गरेका छन् । सहकारीका अध्यक्ष लिला बहादुर गुरुङ्गले आफ्ना नाममा विभिन्न स्थानमा अकुत सम्पत्ति जोडेका छन् । उनले विदेशमा समेत सम्पत्ति लुकाएको आरोप छ । आरोपबारे प्रश्न गर्न गुरुङ्गको नम्बरमा सम्पर्क गर्दा उनले फोन उठाएनन् ।