मानव तस्करी गरेको भन्दै पर्वतारोहण संघका अध्यक्ष शेर्पा र महासचिव लम्साल विरुद्ध उजुरी

दियो पोस्ट  

काठमाडौं । नेपाल पर्वतरोहण संघका पदाधिकारीको मिलेमतोमा मानव तस्करी भएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्रालयमा उजुरी परेको छ । संघका अध्यक्ष निमा नुरु शेर्पा र महासचिव मोहन लम्साल विरुद्ध उजुरी परेको हो ।

सोमबार मन्त्रालयमा पुगेको उजुरीमा अध्यक्ष शेर्पा र महासचिव लम्सालको मिलेमतोमा विभिन्न व्यक्तिलाई विदेशस्थित कार्यक्रमको बाहानामा मानवतस्करी भएको आरोप लगाइएको छ ।

‘नेपाल पर्वतारोहण संघबाट पर्यटन तथा पर्वतारोहण सम्बन्धी कार्यक्रममा भाग लिन क्यानडा गएका संघका कार्य समितिका सदस्यहरु डोमा शेर्पा,रामचन्द्र धमला र लालबहादुर वाईबाले अध्यक्ष ङिमा नुर्वु शेर्पा र महासचिब मोहन लम्साल संगै ०२२ को २७ अक्टोवर देखि २९ सम्म क्यानडामा युआइएए (युनियन अफ ईन्टरनेश्नल अल्पाइन एशोशियशन)को साधारण सभामा सहभागी हुनका लागि संस्कृतिक पर्यटन तथा नागारिक उडड्यन मन्त्रालयबाट चिठी लेखेर क्यानेडियन राजदुत नयां दिल्लीबाट भिसा लिएको भन्ने जानकारी प्राप्त भएकोमा अध्यक्ष ङिमा नुर्वु शेर्पा महासचिव मोहन लम्साल र सदस्य डोमा शेर्पा कार्यक्रममा भाग लिन गएको र कार्यक्रम सके पछि अध्यक्ष ङिमा नुर्वु शेर्पा र महासचिव मोहन लम्साल नेपाल फर्केको र सदस्य डोमा शेर्पा नफर्केको हो भने भिसा लगाए पनि सदस्य रामचन्द्र धमला र लालबहादुर वाईबा कार्यक्रममा नगई कार्यक्रममा सहभागी नभई पछि क्यानडा भई वेपत्ता भएको जानकारी गराउदछौँ,’ उजुरीमा भनिएको छ ।

कार्यक्रममा सहभागीहरुबाट अध्यक्ष शेर्पा र महासचिव लम्सालले भित्र भित्रै मोटो रकम लिएको आरोप समेत उजुरीमा लगाइएको छ । तर, शेर्पाले भने यसअघि दियोपोस्ट डटकममा प्रकाशित समाचारको खण्डन गर्ने क्रममा आफ्नो संलग्नता नरहेको दाबी गरेका थिए । संघका अधिकारीहरुले कार्यक्रम सकेपछि नेपाल फर्कने ग्यारेन्टी नै नगरी ती व्यक्तिहरुलाई क्यानडा भगाएको आरोप उजुरीमा छ ।