काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ परेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका–३ तिनपिप्ले चेक पोष्टबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ग्रामसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा नुवाकोट घर भई काठमाडौं म्हेपी बस्ने २३ वर्षीय बुद्धिमान तामाङ र २३ वर्षीय साम्देन सेरचन रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले बा.प्र.०२–०२९ प ४०४९ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त गाँजासहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।
यसैपरी कञ्चनपुरको भिमदत्त नगरपालिका–१० काठेपुलबाट अवैध लागूऔषध खैरो हेरोइन ३४ मिलिग्राम र चरेस १ ग्राम ३२ मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका–१० काठेपुल बस्ने २६ वर्षीय किसन नाथ र सोही नगरपालिका–४ गोबरिया बस्ने २२ वर्षीया ज्ञानु बिष्ट रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित मंगलबार साँझ पक्राउ गरेको हो ।
साथै बाराको निजगढ नगरपालिका–११ उनासिकिलो पुलबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो ५ सय ग्रामसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धनुषा ढल्केवर नगरपालिका–७ केमलीपुर बस्ने ३० वर्षीया राम पुकारी साह, पर्वत कुश्मा नगरपालिका–८ बस्ने ४५ वर्षीय कमल दमाई र तनहुँ व्यास नगरपालिका–११ बस्ने २१ वर्षीय अमित लम्साल रहेका छन् । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले पोखराबाट जनकपुरतर्फ आउँदै गरेको ग.१ ख ९९२८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी पर्साको पोखरिया नगरपालिका–६ सिर्सियाबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको कालिकामाई गाउँपालिका–५ बस्ने ३२ वर्षीय रन्जित कुमार राउतसहित २ जना रहेका छन् । ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरी टोलीले सिर्सियाबाट मानिपुरतर्फ जाँदै गरेको बीआर २२ ए डव्लु ७६०१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजासहित मंगलबार साँझ पक्राउ गरेको हो ।
साथै पर्साकै वीरगंज महानगरपालिका–१६ रजतजयन्ति चोकबाट अवैध लागऔषध खैरो हेराईन करिब १ ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–८ कमाने बस्ने २९ वर्षीय राजु राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र प्रहरी चौकी ईनार्वाबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त लागूऔषधसहित मंगलबार साँझ पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।