काठमाडौं । नेपाली कांग्रेसले लामो समयपछि केन्द्रीय समिति बैठक आह्वान गरेको छ।
सभापति शेरबहादुर देउवाले असार २७ गतेदेखि सुरू हुने गरी केन्द्रीय समिति बैठक आह्वान गरेका हुन्।
बुधबार देउवा निवास धुम्बाराहीमा सभापति, उपसभापति र महामन्त्रीहरूबीच भएको बैठकले केन्द्रीय समिति बैठक आह्वान गर्ने समझदारी गरेका हुन्।
कांग्रेसले गत वर्ष साउनमा केन्द्रीय समिति बैठक राखेको थियो। विधानअनुसार प्रत्येक दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने हुन्छ। केन्द्रीय समिति ठूलो भएको र तत्कालै बैठक बस्न असम्भव रहने भन्दै कांग्रेसले महत्वपूर्ण निर्णय पनि केन्द्रीय कार्यसम्पादन समितिमार्फत गर्दै आएको थियो।
कांग्रेसले गत मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको समीक्षासमेत गरेको थिएन ।