छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । झापाको दमक नगरपालिका–२ सनराईज बोर्डिङ स्कुल अगाडि सडकमा मे.१० प ८२१० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ८६ वर्षीय हर्क बहादुर बुढाथोकी रहेका छन् । मंगलबार बिहान मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको आम्दा अस्पताल दमक हुँदै नोबेल अस्पताल विराटनगरमा बुधबार बिहान थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सल्यानको बागचौर नगरपालिका–१ ठिनबाँङखोलास्थित सडकमा रा.१ त ३२६३ नम्बरको ट्याक्टर बुधबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लाल बहादुर बिक रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि नेपलागंज बाँकेतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालकसहित अन्य २ जनालाई स्थानीय जनप्रिय पोलिक्लिनिक थारमारे हुँदै थप उपचारको लागि नेपलागंज बाँकेतर्फ पठाइएको छ ।

साथै कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ आमखैयास्थित सडकमा बा.०१००२५ च ३६३४ नम्बरको टाटा पिकअप जिपको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–१ बस्ने ५९ वर्षीय अमर साउँद रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको पदमा अस्पताल अत्तरीया हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो । जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस