काठमाडौं । ललिता निवास प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरमा सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले दायर गरेको मुद्दा हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पेसी परेको छ।
न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको छ। गोलाबाट तोकिएको पेसी श्रेष्ठ र रेग्मीको इजलासमा परेपछि हेर्न नमिल्ने भएको छ।
रेग्मी आफैं बालुवाटार जग्गा प्रकरणमा विवादमा परेका न्यायाधीश हुन् भने उनी गुरुङको पूर्व कानुन व्यवसायी पनि हुन्। गुरुङको धेरै मुद्दामा बहस गरेका रेग्मीले ललिता निवासको जग्गा नै फि वापत लिएको देखिएपछि उनी आफैं विवादमा परेका छन्। रेग्मीले उक्त जग्गामध्ये केही अंश सरकारलाई फिर्ता पनि गरेका छन्।