काठमाडौं । ललितपुरको जावलाखेलस्थित कल्याण उपकार सेभिङ एण्ड क्रेडिट लिमिटेडका उच्च अधिकारीहरुले सर्वसाधरण बचतकर्तालाई जग्गा दिन्छु भन्दै झुलाएको पाइएको छ ।
बचतकर्ताको अर्बौं रकम हिनामिना भएपछि बागमति प्रदेश सरकारले छानबीन थालेको थियो । सहकारीका अध्यक्ष लिला बहादुर गुरुङ सहितको समुहले ५ हजार भन्दा बढी बचतकर्ताको करिब १ अर्ब ६१ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ । बचतकर्ताहरु रामेश्वर देउजासहितको समुहले केहीदिन अघि बागमती प्रदेश सरकारलाई निवेदन दिएको थियो । निवेदनको आधारमा २१ दिन भित्र बचतकर्ताको रकम फिर्ता गर्न निर्देशन दिएपनि सहकारी संचालकहरुले रकम फिर्ता गर्नुको सट्टा स्वेत पत्र जारी गरेर बचतकर्तालाई झुलाउने काम गरेको आरोप छ ।
बचतकर्ताको सम्पर्कमा समेत नरहेका अध्यक्ष गुरुङ प्रदेशस्थित पर्यटन उद्योग तथा सहकारी मन्त्रालयमा भने एउटा स्वेत पत्र लिएर पुगेका थिए । मन्त्रालयले २१ दिन भित्र बचतकर्ताको २ करोड रुपैयाँ बराबरको रकम फिर्ता गर्न निर्देशन दिएको भएपनि उनले पत्रमा भने स्वेत पत्र लिएर पुगेका थिए । उनीहरुले पेश गरेको स्वेत पत्रमा बचतकर्ताको बचत फिर्ताको सुनिश्चितता भन्दा पनि अध्यक्ष गुरुङको मिलेमतोमा देशैभर किनेका केही घर जग्गाको विवरण उल्लेख छ । करिब ८१ करोड बराबरको जग्गा रहेको स्वेत पत्रमा उल्लेख छ । तर, सर्वसाधरणको १ अर्ब ६१ करोड रुपैयाँ कहाँ गयो भन्ने विषय त्यहाँ उल्लेख छैन ।
सहकारीको उद्देश्य विपरित घरजग्गामा लगानी !
अध्यक्ष गुरुङले सहकारीको उद्देश्य विपरित गैरकानुनी धन्दा गरेको पुष्टि भएको छ । दियोपोस्टलाई प्राप्त कागजात अनुसार सहकारीको बचतकर्ताको रकम दुरुपयोग गरि देशका विभिन्न स्थानमा ८१ करोड भन्दा बढी मुल्यको घरजग्गा किनेको पुष्टि भएको छ । सहकारीले प्रदेश सरकारलाई पेश गरेको स्वेत पत्रमा सहकारीको उद्देश्य विपरित ८१ करोड मुल्य बराबरको घर जग्गा किनिएको र उक्त घरजग्गा बेचविखन गरेर बचतकर्ताको रकम फिर्ता गर्ने जानकारी गराइएको छ । जबकी यतिबेला घर जग्गाको कारोबार ठप्प छ । त्यसो त बचतकर्ताको रकम दुरुपयोग गरेर घरजग्गा किन्नु नै आर्थिक अपराध हो ।
ललितपुर महानगरपालिका अन्तर्गत जावलाखेलमा कार्यालय रहेको सहकारीले लुम्बिनी लगायत क्षेत्राधिकार बाहिर गएर करोडौँको जग्गा खरिद गरेको रिपोर्टमै उल्लेख छ । सिन्धुली, काभ्रे चितवनको अयोध्यापुरी देखि झापामा समेत जग्गा खरिद गरि किनबेच गरेको खुलेको हो ।
बचतकर्तालाई झुलाएर छल्ने रणनीतिमा सञ्चालक
आफ्नो बचत फिर्ता नपाएका सहकारी पीडितहरु नियमित जसो कार्यालयमा धाउने र आफ्नो बचत रकम फिर्ता माग्ने गरेका छन् । आइतबार बानेश्वरस्थित शाखा कार्यालय पुगेका रामेश्वर देउजाले आफ्नो बचत रकम कहिले फिर्ता दिने हो भनेर प्रश्न गरे । तर, सहकारी संचालक प्रतिनिधिले उनलाई चित्त बुझ्दो जवाफ दिएनन् । ‘म हिजो बानेश्वर शाखामा जाँदा उनीहरुको बचत फिर्ता गर्ने कुनै मनसाय देखिनँ । जम्मा १४/१५ लाख कट्ठा पर्ने जग्गा २१ लाख तिर्ने अनि ८ लाखको थैली राखी पास गर्ने तथा ८ लाखको १५ प्रतिशत सेयर दिएर झुलाउन खोजिँदैछ,’ उनले भने,‘अब कानुनी उपचारको विकल्प छैन ।’