काठमाडौं । काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालक अझैसम्म पनि फेला परेका छैनन् ।
सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुल कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर बेपत्ता भएको थिए ।
ती बालक बगेर विभिन्न खोलामा पुगेको हुन सक्ने भएकाले उनको खोजी गर्न काठमाडौंका विभिन्न युनिटहरू खटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेश मैनालीले जानकारी दिए।
डेडिकेटेड टिम ४५ जना खटिएका छन्। अन्य विभिन्न मातहतका प्रहरीहरूलाई पनि हेर्न भनिएको छ,’ एसएसपी मैनालीले भने, ‘अन्तिममा बागमतीमा पुगिने भएकाले कालिमाटी र कीर्तिपुरलाई पनि आवश्यक खोजी गर्न भनेका छौं।’
नं. १८ निलबाराही गणबाट डिएसपीको कमान्डमा २० जना, नं. २० विपद् उद्धार उपत्यका गणबाट इन्सपेक्टरको कमान्डमा १५ जना र नं. २४ बाघभैर गुल्मबाट इन्सपेक्टरको कमान्डमा २१ जना खटिएका छन्।