सात दिनभित्र निर्वाचन खर्च विवरण बुझाउन उम्मेदवारलाई आयोगको निर्देशन

गगन थापा, सोविता गौतम, ओनसरी घर्तीसहितका सांसदहरूको नाम खर्च विवरण नबुझाउनेहरूको सूचीमा

दियो पोस्ट  

काठमाडौं । गत वर्षको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई निर्वाचन आयोगले कारबाहीको तयारी गरेको छ । प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र प्रदेशसभातर्फ १ हजार ३ सय ९८ जना उम्मेदवारलाई खर्च विवरण नबुझाएको भन्दै कारबाही गर्न लागेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभातर्फ गरी जम्मा २ हजार ४ सय ३५ जनालाई आयोगले १५/१५ हजारका दरले जरिवाना तिर्न निर्देशन दिएको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै सात दिनभित्र खर्च विवरण बुझाउन पनि आयोगले निर्देशन दिएको छ । हालसम्म नेपाली कांग्रेसका गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम, माओवादी केन्द्रकी ओनसरी घर्तीसहितका सांसदहरूको नाम पनि खर्च विवरण नबुझाउनेहरूको सूचीमा छ ।

प्रतिनिधिसभाका २ हजार ३ सय ७३ जना र प्रदेशसभाका ५ हजार ५ सय ६१ जना उम्मेदवारले मात्रै खर्च विवरण बुझाएको पनि आयोगले जनाएको छ ।

यससँगै खर्च विवरण बुझाउनेहरूको पनि नामावली आयोगले सार्वजनिक गरेको छ । यस्तै आयोगले प्रतिनिधिसभा र प्रदेशसभा गरि ७४ जना उम्मेदवारहरूसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।