डाबर नेपालको रियल जुसमा भ्यागुता जस्तो देखिने अखाध्य बस्तु फेला, विभाग मौन (भिडियोसहित)

दियो पोस्ट  

काठमाडौं । डाबर नेपालले नेपालमा विक्री गर्दै आएको रियल जुसमा विभिन्न अखाध्य पदार्थ भेटिने गरेको छ । तर, उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड भइरहेपनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कुनै कारबाही गर्न सकेको छैन । सर्वसाधरणले बजारमा खरिद गरेको एक लिटरको मिक्स जुसमा भ्यागुता जस्तो देखिने बस्तु भेटिएको छ ।

एक महिलाले आफूले जुस पिउँदा दुर्गन्धित पाएपछि खोलेर हेर्दा कालो भ्यागुता जस्तो बस्तु भेटिएको बताइन् । सामाजिक सञ्जाल फेसबुकमा गंगा न्यौपाने अर्यालले राखेको भिडियोमा जुस भित्र अखाध्य बस्तु भेटिएको बताएकी हुन् ।
‘यस्तो अखाध्य वस्तु पनि हाल्दो रहेछ । किन छापा मारिँदैन,’ उनले भनेकी छिन्,‘यस्तो चिज पनि बेच्ने हो त । यस्तो फोहोर लौ हेर्नुस् त । यो भ्यागुता हो की यस्तो कालोकालो ।’

एक गिलास आफूले सेवन गरेपछि यस्तो विषय थाहा भएको उनले बताइन् । यस विषयमा प्रतिक्रिया लिन विभागको फोन नम्बरमा फोन गर्दा फोन उठेन । विभागको वेभसाइटमा प्रवक्ताको नाम मोहनकृष्ण महर्जन उल्लेख छ । तर, उनको मोबाइल नम्बर लुकाइएको छ । त्यस्तै सुचना अधिकारीको समिक्षा बन्जाडेको नाम पनि उल्लेख छ । तर, सुचना दिने व्यक्तिको मोबाइल नम्बर पनि लुकाइएको छ ।