भुकम्प र भोटेकोसी बाढीपछि हराएको नेपाल– चीन सीमा स्तम्भ अझै गायब, सरकारको उदासिनता !

दियो पोस्ट  

 

निरोज चौलागाईं

सिन्धुपाल्चोक

नेपाल– चीन सीमाको सीमा स्तम्भ हराएको ७ बर्ष बितिसक्दा पनि नेपाल सरकार रहस्यमयी रुपमा उदासिन देखिएको छ ।

नेपाल–चीन उत्तरी नाका तातोपानीमा पर्ने स्तम्भ बाढीले बगाएको ७ बर्ष बितिसक्दा समेत राज्यको ध्यान त्यसमा नपुगेको हो । सीमा स्तम्भ बगाउँदा सीमा सुरक्षा बलले सीमा सुरक्षा बिभागमा रिपोर्टिङ गरेपनि निर्माण कार्य भने भएको छैन ।

७२ भुकम्प र भोटेकोसी नदिको बाढीले बगाएर हराएको नेपाल–चीन सीमा क्षेत्र भोटेकोसी गाउपालिका २ स्थित १० किलोमा पर्ने ५४/३ नम्बरको पिलर ठडिएको छैन। हरेक देशले आफ्नो सीमा क्षेत्र र भुमिको चासो राख्ने गर्दछ तर नेपालको हकमा भने त्यो भएको पाइदैन । सीमा सुरक्षा बिभागले सो स्तम्भको रिपोर्टिङ लिएपनि बिभागले भने यस बिषयलाइ हेलचक्राइ गरेको पाइएको हो । आफ्नो देशको सीमामा रहेको सीमा स्तम्भ बाढीले बगाएको ७ बर्ष बितिसक्दा पनि बिभागले कानमा तेल हालेर बस्नु गलत भएको स्थानीयको आरोप छ ।

राज्यको सयन्त्रले नै यसरी लापरबाही गरे सीमा बारे कसले हेर्छ ? तातोपानी बासी प्रश्न गर्छ । नेपालको सीमा क्षेत्र दक्षिण र तातोपानी बाहेक उत्तरको अन्य सीमाबारे प्रश्न उठ्ने गरेको छ । तर विवाद रहित रहेको तातोपानी सीमा क्षेत्रको स्तम्भ निर्माण गर्न नसक्नुले राज्य माथि गम्भीर प्रश्न उब्जिएको छ ।

नेपाल चीन सीमा क्षेत्रमा ९ वटा सीमा स्तम्भ छ । त्यस मध्ये ४ स्तम्भ चिनियाँ भुभागमा छन् भने, नेपाल तर्फ ५ स्तम्भ छन् । नेपाल तर्फ हराएको स्तम्भ ५४/३ नम्बरको सीमा स्तम्भ हो । नेपाल तर्फ पर्ने भोटेकोसी गाउँपालिका वडा नम्बर ३ को बोक्चेन छ्यापामा ५४/१/२ नम्बरको स्तम्भ छ । त्यस्तै नेपाल–चीन मितेरी पुल देखि उत्तर तर्फ खाहरे खोला छ त्यहाँ चिनियाँ र नेपाल तर्फको दुई सीमा स्तम्भ छ । उत्तर तर्फ नेपालको र दक्षिण तर्फ चीनको छ। नेपाल तर्फको ५२÷१ नम्बरको पिलर त्यस क्षेत्रमा राखिएको छ । त्यस्तै मितेरी पुलको नेपाल तर्फ ५३/२ नम्बरको पिलर छ भने, भोटेकोसी ३ कै १० किलो परि ५४/२ नम्बरको पिलर रहेको श्रोतले जनाएको छ । भोटेकोसी गाउपालिकाको अध्यक्ष पासाङ नोर्बु शेर्पाले भने, ‘हामीले सीमा सुरक्षा अधिकारीसँग समन्वय गरेका छौँ, अब यसलाई छिटै निर्माण गरिने छ ।’

उनका अनुसार दुई देशको छलफल पछि केही महिना भित्र नेपालतर्फ हराएको स्तम्भ निर्माण गरिनेछ । ‘हामीले स्तम्भ निर्माणको लागि समन्वय गरेर मात्रै अगाडि बढ्नु पर्ने देखिएको छ,’ उनले भने ।

नेपाल–चीन उत्तरी नाकामा पछिल्लो समय विवाद भएको पाइँदैन । तर नेपालले भने आफ्नो भूभागमा पर्ने स्तम्भ समेत निर्माण गर्न नसकेको स्थानीयको आरोप छ ।
नेपाल तर्फ हराएको सो स्तम्भ निर्माण गर्दा चिनियाँ पक्षको समेत उपस्थित हुनुपर्ने दुई देशको परराष्ट्र नीतिमा उल्लेख गरिएको छ ।

केहि महिना अघि चिनियाँ क्षेत्रमा पर्ने सीमा स्तम्भ निर्माण गर्दा दुई देशको सीमा सुरक्षा समितिको छलफल र उपस्थितिमा निर्माण गरिएको श्रोतको भनाइ छ । नेपाल तर्फ हराएको भोटेकोसी गाउँपालिका वडा नम्बर २ स्थित १० किलोमा ४५÷३ नम्बरको स्तम्भ निर्माण गर्दा चिनियाँ पक्षको समेत उपस्थित र छलफलमा निर्माण गर्नु पर्ने नीति रहेको श्रोतको भनाइ छ ।

नेपाल–चीन सीमा क्षेत्रमा रहेको स्तम्भ ९ वटै स्तम्भ हरेक १० बर्षको अन्तरमा रिभ्यु गर्ने सहमति भएपनि पछिल्लो समय सन २००६ यता भने हुन सकेको छैन ।