काठमाडौं । त्रिभुवन विमानस्थलबाट भित्रिएपछि बरामद भएको १ सय ५५ किलो सुन प्रकरणमा सरकारको भूमिका शंकाष्पद देखिएको छ । साउन २ गते मोटरसाइलको ब्रेकसुको नाममा हङकङबाट ल्याइएको तस्करीको करिब एक सय किलो सुन समातिएको घटनामा साउन १० गते राजस्व प्रशासनले विवादास्पद व्यापारी राकेश अडुकियाको मालीगाउँस्थित निवासमा छापा मारेपछि शंकाको दायरा बढेको हो । अडुकिया सडक मार्गहुँदै भारतीय भूमि प्रवेश गरेको ३६ घण्टापछि सरकारले उनको गोदाममा छापा मारेको जानकारीमा आचएको छ ।
साउन २ गते मंगलबार भन्सार पास गरेर निकालिएको सुन राजस्व अनुसन्धान विभागले ट्याक्सीबाट बरामद गरेको थियो । उक्त घटना बुधबार सार्वजनिक भएपछि काठमाडौंबाट प्रकाशित हुने आर्थिक दैनिकले पहिलो पटक बिहीबार उक्त तस्करीमा राकेश अडुकिया संलग्न हुनसक्ने समाचार दिएको थियो । यसरी संचार माध्यमले नै जानकारी दिइसकेको अवस्थामा समेत उनीमाथि कुनै छानबीन समेत भएको थिएन ।
हङकङबाट क्यारी अन ग्लोबल लजिस्टिक लि.ले उक्त सामान कार्गो गरी पठाएको थियो । सोही कम्पनीबाट अडुकियाले हङकङबाट नियमितरूपमा चाँदी आयात गर्नेगरेको देखिएको छ । अडुकियाले विगत १३ वर्षदेखि हङकङबाट वैधानिकरूपमा चाँदी आयात गर्नेगरेका छन् । सन् २०१०मा डा. युवराज खतिवडा नेपाल राष्ट्र बैंकको गभर्नर हुँदादेखि नै राष्ट्र बैंकबाट विदेशी मुद्राको सुविधा लिएर उनले चाँदी आयात गर्नेगरेका छन् । नेपालमा वार्षिक करिब १५ अर्ब रुपैयाँको चाँदी आयात हुने गर्दछ र त्यसमा आधाभन्दा बढी अडुकियाले आयात गर्नेगरेका छन् । वैधानिकरूपमा चाँदी आयात गर्नेगरेका अडुकियाले चाँदीमा ३०–७० को अनुपातमा सुन मिसाएर तस्करी गर्नेगरेको आशंका गरिएको थियो र त्यसलाई काठमाडौंमा सुन र चाँदी छुट्याएर भारततर्फ सप्लाइ गर्नेगरेको थियो । चाँदी आयातका नाममा उनले राष्ट्र बैंकको सिङ्गो नेतृत्वलाई हातमा लिँदै आएका थिए र अहिलेसम्म राष्ट्र बैंकमा उनको अनुकूलको नेतृत्व रहेको छ । यस पटक ल्याइएको मोटरसाइकलको ब्रेकसुको नाममा पनि त्यसैगरी ल्याइएको हुनाले सुन तस्करीमा उनको संलग्नता रहेको आशंका गरिएको थियो । रेडी टे«डर्स प्रालिको नाममा ब्रेकसुको नाममा आएको सुनको असली आयातकर्ता २१ वर्षीय दिलिप भुजेल र उनका ५३ वर्षीय मामा रामकुमार भुजेल विपन्न परिवारका सदस्य रहेको खुलिसकेको छ । उक्त सुन ल्याउन लगानी गर्ने कम्फोर्ट अपार्टमेन्ट लाजिम्पाट बस्ने भारतीय नागरिक थुप्पेन छिरिङ र ३६ वर्षीय चिनियाँ नागरिक जेक्युयान लिङ दुवै पक्राउ परिसकेका छन् । उक्त कार्गो छुटाउने समूहको नेतृत्व परिवर्तन राईले गरेको र उनको समूहमा राजेन्द्र राई, कमल ढकाल, पशुपति गुरुङ र सुमन निरौलालगायतको टिम रहेको पनि खुलिसकेको छ । तर, दोलखाका सामान्य ज्यामीको नाममा खोलिएको कम्पनीमा चिनियाँ नागरिकको लगानीको हङकङबाट आएको सुनमा संलग्न भारतीय पक्ष कुन हो भन्ने खुल्न सकेको थिएन । त्यसका बारेमा अनेक अड्कलबाजी भइरहँदा राकेश अडुकियाका छोरा रोहन अडुकिया बिहीबार बिहानै लुसुक्क दिल्ली गएका थिए ।
यसअघि हङकङबाट सामान मगाउँदा राकेश अडुकियाले ग्रुप ४ को सेवासँगसँगै छोरो रोहनलाई पनि एयरपोर्ट पठाउने गरेका थिए । नेपालमा जन्मिएको ब्रिटिस स्कुलमा पढेको तर बेलायतस्थित भारतीय दूतावासबाट भारतीय पासपोर्ट लिएको २१ वर्षको रोहन अडुकिया विगत १८ महिनामा २३ पटक हङकङ, दुबई र काठमाडौं आवतजावत गरेको देखिएको छ । यसैगरी इन्डियन मोर्डन स्कुलमा पढेर हुर्किए पनि हङकङको पीआर लिएर काठमाडौंमा बस्दै आएका राकेश अडुकियाले अहिलेसम्म नेपालको नागरिकता लिएका छैनन् । श्रीमती रुची अडुकियाको नाममा अनेकौँ कम्पनी खोलेर काम गरेका अडुकियाले पछिल्लो समय छोरो रोहनको नाममा टेस्ला गाडीको एजेन्सी लिएर कारोबार गर्दै आएका छन् । सन् २०१० देखि नै चाँदीको नाममा सुन तस्करी गर्दै आए पनि उनको धन्दा सन् २०१७ देखि चम्किँदै गएको हो । सन् २०१९ पछि झण्डै दुई वर्ष कोभिडले विश्वभरको आवतजावत ठप्प पारे पनि २०१७ यता उनले दुई सयभन्दा धेरै पटक हङकङ, दुबई यात्रा गरेको देखिएको छ । पछिल्लो समय उनी गत असार ११ गते हङकङ गएर २० गते काठमाडौं फर्किएका थिए । उनी फर्किएको नौ दिनपछि हङकङबाट रेडी टेडर्सको नाममा ३३ कार्टुन कार्गो सामान आएको थियो । तीमध्ये असार ३१ गते १५ कार्टुन कसैले छुटाएर लगेको थियो भने साउन १ गते १० कार्टुन छुटाएर लगेको थियो भने साउन २ गते छुटाएर लगेको आठ कार्टुन सामान सिनामंगलबाट बरामद भएको थियो र त्यसैमा झण्डै एक सय किलो सुन भेटिएको हो । सुन आउनुअघि भएको उनको शंकास्पद हङकङ यात्रा र सामान समातिएपछि शुक्रबार उनको छोरोले लुसुक्क दिल्ली प्रस्थान गरेपछि सुन तस्करीको सुई अडुकियातिर सोझिएको थियो । छोरो दिल्ली गए पनि बुढी र छोरीसँगै अडुकिया काठमाडौंमा नै बस्दै आएका थिए ।
अडुकियाले नेपाल राष्ट्र बैंकमा रहेको एमालेनिकट नेतृत्वसँग सहकार्य गरेर नेपाली भूमि प्रयोग गर्दै लामो समयदेखि चाँदीका नाममा सुन आयात गर्दै आएका छन् । यस पटक कार्गो छुटाउने पक्रियामा जोडिएका परिवर्तन राई पनि एमालेका युवानेता मानिन्छन् । उनी कागा व्यवसायी पनि हुन् । सात वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो राखिने गोदाम लिजमा लिन सिंगापुर इन्टरनेश्नलको नेपाली प्रतिनिधिका रुपमा टेन्डर हाल्ने व्यवसायी पनि हुन् । त्यतिबेला उनले सिंगापुरको कम्पनीको नाममा डकुमेन्टहरु आफैले बनाएर हालेको एक् छानबीनबाट पुष्टि भएपछि टेन्डर पाएका थिएनन् । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीबीचको आपसी विवादको आगोमा घ्यू थप्ने काम गरेको थियो । कार्गो छुटाउन राईलाई सगाउने टिमका अन्य सदस्यहरू पनि एकै विचारका व्यक्तिहरू हुन् । तीमध्येका कमल ढकाल देखावटीरूपमा ठाउँ–ठाउँमा सुन पसल खोलेर फिरौती उठाउनेदेखि तस्करीका सुन सञ्चालन गर्नेसम्मका काम गर्ने व्यक्ति हुन् । तस्करीको सुन छुटाउने कार्यमा राईको संलग्नताको सुचना चुहिएपछि राजश्व प्रशासनले सुन तस्करीको छानबीनको प्रतिक्रया अघि नबढाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट युवा संघले निष्पक्ष छानबीनको माग गर्दै मसाल जुलुस प्रदर्शन गर्नुलाई चोरको खुट्टा काट भन्दा फूत्त तानेजस्तै घटना भएको छ ।
सुन ल्याउने रेडी टे«डर्सले तीन महिनामा एक हजार नौ सय ९७ केजी सामान ल्याएको रेकर्ड भन्सारमा देखिएको छ र सामान ल्याउने समयमा भन्सार अधिकृत र प्रहरी प्रशासनसँगको सेटिङमै आउनेगरेको घटनाक्रमहरूले पुष्टि गरेको छ । त्यसमा एउटा राजनीति पक्षको भुइँफुट्टा समूहको संलग्नताले घटनाक्रमहरूलाई झन् विवादास्पद बनाएको छ । राजस्व अनुसन्धान विभागले बुधबार नै सुन आयात गर्ने रेडी टे«डर्स प्रालिको सोह्रखुट्टे गोदाममा समेत छापा मारेर ६६ कार्टुन ब्रेकसु र दुईवटा सुटकेस फेला पारेको छ । सो स्थान हङकङबाट सुन ल्याएर भण्डारण गर्ने र त्यहाँबाट भारत लैजान प्रयोग गर्नेगरेको पाइएको छ भने नरेश भनिने सुरेन्द्र तामाङलाई पक्राउ गरेको छ ।