
चितवन । बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएसँगै पोल्ट्री क्षेत्र विस्तारै पुरानै लयमा फर्किन थालेको छ । बजारमा अण्डाको माग बढ्न थालेपछि नेपाल लेयर्स कुखुरापालक संघले बुधबारदेखि अण्डाको समर्थन मूल्य बढाएको छ ।
संघले फार्मको दररेटलाई आधार बनाएर सबै प्रकारका अण्डाको मूल्य समायोजन गरेको जनाएको छ । नयाँ मूल्यअनुसार ठूलो अण्डाको प्रतिक्रेट मूल्य ५०० रुपैयाँबाट बढेर ५३० रुपैयाँ पुगेको छ । यस्तै मिडियम अण्डा ४७० रुपैयाँबाट ५०० रुपैयाँ, एक्सएल अण्डा ५१५ रुपैयाँबाट ५४५ रुपैयाँ पुगेको छ । सानो अण्डाको सात क्रेट भएको एक पेटीको मूल्य २ हजार ९०० रुपैयाँबाट बढाएर ३ हजार रुपैयाँ कायम गरिएको छ।
संघका अनुसार बर्डफ्लुको प्रभाव कम भएसँगै उपभोक्ताको विश्वास बढेको, बजारमा खपत वृद्धि भएको तथा उत्पादन अपेक्षाकृत कम रहेकाले मूल्य समायोजन गर्नुपरेको हो ।
बर्डफ्लुको संक्रमण फैलिएका बेला अण्डाको मूल्य लगातार ओरालो लागेको थियो । ठूलो अण्डाको प्रतिक्रेट मूल्य ५६५ रुपैयाँबाट घट्दै ४५० रुपैयाँसम्म झरेपछि किसानले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको थियो ।
उत्पादन लागत पनि किसानका लागि चुनौतीपूर्ण बनेको छ । हाल एक गोटा अण्डाको लागत करिब १९ रुपैयाँ १२ पैसा पर्ने भएकाले लागत मात्र उठाउन पनि किसानले प्रतिक्रेट कम्तीमा ५७३ रुपैयाँ ६० पैसा पाउनुपर्ने अवस्था रहेको संघले जनाएको छ ।
पोल्ट्री व्यवसायीहरूका अनुसार रोग नियन्त्रणमा आएपछि बजार विस्तारै सामान्य बन्दै गएको छ । अण्डासँगै मासु र चल्लाको कारोबार पनि पुरानै अवस्थामा फर्किन थालेको उनीहरूको भनाइ छ ।