
कैलाली । कैलाली र कञ्चनपुरका केरा उत्पादकले बजारमा केराको मूल्य अस्वाभाविक रूपमा बढेको भन्दै प्रभावकारी बजार अनुगमन गर्न सरकारसँग माग गरेका छन् ।
केरा उत्पादक संघ कैलाली र केरा उत्पादक तथा व्यवसायी संघ कञ्चनपुरले बिहीबार संयुक्त पत्रकार सम्मेलन गर्दै बगानबाट गुणस्तरअनुसार प्रतिदर्जन रु ६० देखि रु ६५ मा बिक्री भइरहेको केरा उपभोक्ताले बजारमा अत्यधिक मूल्यमा किन्न बाध्य भएको बताएका हुन् ।
बजारमा औषतमा दर्जनको २ सय सम्ममा केरा बिक्री भइरहेको छ ।
उत्पादकहरूले किसानले उचित मूल्य नपाएको र उपभोक्ताले महँगो मूल्य तिर्नुपरेको अवस्था अन्त्य गर्न सम्बन्धित निकायले तत्काल बजार अनुगमन गर्नुपर्नेमा जोड दिएका छन्।
संघीय सरकारले भारतबाट केराको बिरुवा तथा फल आयातमा रोक लगाएको निर्णय गरेको छ । तर अब कृत्रिम अभाव, कालोबजारी र अनुचित मूल्यवृद्धि नियन्त्रणमा सरकारको ध्यान जानुपर्ने जनाएको छ ।
यसैबीच, संघले कैलाली र कञ्चनपुरमा बगानबाट बिक्री हुने काँचो केराको सिफारिस मूल्य पनि सार्वजनिक गरेको छ । भदौदेखि असोज मसान्तसम्म प्रतिदर्जन रु ५५-६५, कात्तिकदेखि मङ्सिर मसान्तसम्म रु ४५-५० तथा पुसदेखि माघ मसान्तसम्म रु ३०-३५ निर्धारण गरिएको छ। फागुनदेखि साउनसम्मको मूल्य भने उत्पादन, बजार अवस्था तथा माग-आपूर्तिको मूल्याङ्कनपछि संयुक्त बैठकबाट तय गरिने जनाइएको छ ।
कृषि गणना २०६८र६९ अनुसार सुदूरपश्चिम प्रदेशमा करिब २,००४ हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ भने वार्षिक करिब ७२ हजार ४४९ मेट्रिक टन उत्पादन हुने गरेको तथ्याङ्क छ । संघका अनुसार कैलालीमा करिब १,८५० हेक्टर र कञ्चनपुरमा करिब ६१० हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ।