विप्लवको गतिविधि नियन्त्रण गर्न इन्सपेक्टरको नेतृत्वमा ५० जनाको फोर्स संखुवासभा पठाइयो

दियोपोस्ट संवाददाता

काठमाडौँ । काठमाडौं । संखुवासभामा प्रतिबन्धित विप्लव समूहविरुद्ध ‘सर्च एन्ड अरेस्ट’ अपरेसनका लागि सेनाको हेलिकप्टरमा विशेष फोर्स परिचालन गरिएको छ । नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमा काठममाडौंबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष फोर्स संखुवासभा पठाइएको हो ।

नेपाल प्रहरी स्रोतका अनुसार सशस्त्र प्रहरी बलको २५ र नेपाल प्रहरीको २५ जनाको टोली संखुवासभा पठाइएको छ । आज बिहानमात्रै संखुवसभामा प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएको थियो । तर दुवै पक्षबीच कुनै क्षति भने भएको छैन ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको सात जनाको टोली र सशस्त्र प्रहरी बलको १० जनाको टोलीमाथि सिलिचुङ गाउँपालिका–१ होयाङग्लामा विप्लव समूहका कार्यकर्ताले फायरिङ गरेका थिए । प्रहरीले देशव्यापी रुपमा प्रतिबन्धित विप्लव समूहविरुद्ध ‘सर्च एनड अरेस्ट अपरेसन’ चलाइरहेको छ ।

गोली हानाहानपछि विप्लव समूहका कार्यकर्ता भागेको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । विप्लव समूहले पहाडी जिल्लामा आफ्नो उपस्थिति बढाएको निष्कर्ष निकाल्दै सुरक्षा संयन्त्रले सतर्कता बढाएका छन् ।