
काठमाडौं । असार ११ गते दुबईबाट नेपाल फर्किएका काभ्रेका २६ वर्षीय प्रमोद गुरुङ बसपार्कस्थित शुभकलश गेस्ट हाउसमा मृत फेला परेका छन् । विदेशबाट आएको दिनदेखि नै म्याग्दी घर भएकी प्रेमिकासँग उक्त होटलमा बस्दै आएका गुरुङ बुधबार विहान मृत फेला परेका थिए ।
बुधबार विहान गुरुङकी प्रेमिकाले होटलको रिसेप्सनमा आई उनको मृत्यु भएको जानकारी गराएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले बताए ।
उनीहरुको कोठामा २ वटा वियर, गाजा र यौनबद्र्धक औषधिसमेत फेला परेको प्रवक्ता बोगटीले जानकारी दिए । युवकको शव त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ चिकित्सकले होटलमै आएर जाँच गरेका छन् । जाँचपछि मृत्युको कारण खुल्ने प्रहरीको भनाइ छ ।
मृतक गुरुङ र युवती दुबै जना अविवाहित हुन् । उनीहरु ११ गतेदेखि १४ गतेसम्म सोही होटलमा बसेका थिए । त्यसपछि नगरकोट घुम्न गएर मंगलबार साँझ पुनः होटलमा आएर बसेका थिए ।