काठमाडौँ, असार २३ । सरकारको कार्यशैलीलाई लिएर चौतर्फी आलोचना भइरहेको समयमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले सरकारको विरुद्धमा छौँडाहरु सलबलाइरहेको बताएका छन् ।
विभिन्न विषयका कारण आलोचना भइरहँदा सरकार र प्रधानमन्त्रीको बचाउ गर्दै रिमालले ट्वीटरमा लेखेका छन्, ‘ भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन्, कसैले छोड्छन्, दुःख दिन्छन्, यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेका ?’
उनको अभिव्यक्तिले सरकारलाई कमजोर बनाउन तथा विवादमा ल्याउनका लागि आन्तरिक तथा वाह्य शक्तिहरु परिचालन भएकोतर्फ संकेत गरेका हुन् । तर, पछिल्लो समय सरकारकै धेरै कामहरु विवादास्पद छन् । सत्तारुढ दलकै सांसदहरु पनि सरकारको कार्यशैलीविरुद्ध खुलेर लागेका छन् । भारतबाट आयात हुने तरकारीमा विषादी परिक्षण गर्ने निर्णय गरेको सरकारले केही समयमै निर्णय परिवर्तन गर्यो । यसबाट पनि जनतामाझ सरकारप्रति नकारात्मक छाप परेको छ ।
सरकार आफ्नै क्रियाकलापहरुबाट विवादीत बनिरहेको बेलामा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको यस्तो अभिव्यक्तिले थप विवाद ल्याउने देखिन्छ । केही बर्ष अगाडी केपी शर्मा ओलीले पनि छौँडाहरुले आफुलाई रातभर सुत्न नदिएको बताएका थिए । उनले छिमेकी मुलुक भारत र चिनले छौडा पठाएर आफुलाई रातभर निदाउन नदिएको बताउँदै मित्रराष्ट्रलाई मित्रराष्ट्रकै रुपमा बस्न चेतावनी सम्म दिएका थिए ।